मोरङ । नगरभित्रको अनियमिताको बिषय उठाउदा वडा अध्यक्षलाई कार्यक्रम (बैठक)बाटै जबरजस्ति निकालिएको बिषयमा सरकार सम्बद्ध पाँच दलीय गठबन्धले भत्र्सना गरेको छ ।
कात्तिक २९ गते (सोमबार) पथरीशनिश्चरे नगरपालिकाको कार्यक्रमबाट ४ नम्बर वडा अध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगर प्रमुख दिलिप कुमार राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद खरेलको आदेशमा नगर प्रहरी प्रयोग गरी अपमान जनक रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।
सो बिषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एकिकृत समाजवादी)ले राजिनामा माग गर्दै नगर प्रमुख दिलिपकुमार राईलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नगर प्रमुख राईले हुकुमी शैलीमा निर्वाचित जनप्रतिनिध भण्डारीलाई बाहिर निकाल्न आदेश दिने नगर प्रमुखले पदबाट राजिनामा दिनुपर्ने, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मिप्रसाद खरेललाई तत्काल कारवाही हुनुपर्ने माग गरिएको छ ।
वडाध्यक्षलाई मर्यादा विपरित बाहिर निकाल्ने नगर प्रहरी, वडा सचिव तारानिधि सापकोटालाई निलम्बन, वडा अध्यक्षले उठाएका भ्रष्टाचार तथा अनियमितताको विषयमा तत्काल सर्वदीय छानविन समिति तयार गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
पथरीशनिश्चरेमा दमकल, जेसीवी, एम्बुलेन्स खरिद कर्मचारी नियुक्तिमा अनियमिता गाडि मर्मत, इन्धन र घरभाडाको बिषयमा छानविन गरि जनतामाझ सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
पथरीशनिश्चरे १ को मुन्धुम चोक (पुरानो पिपलचो)मा सार्वजनिक जग्गामा नगरको निर्णय बेगर मनोमानी ढंगले बनेको भवनको छानविन गरी सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र उल्लेखित विषयमा ३ दिनभित्रमा सम्बोधन नभए, गठबन्धनको बैठक बसी थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाली कांग्रेस, पथरीशनिश्चरे नगरसभापति रुपनारायण भट्टराई, नेकपा माओवादी केन्द्रका प्रेम ढकाल(का.वा.अध्यक्ष), जसपा फिपराज बेघा (नगर अध्यक्ष), नेकपा (एकिकृत समाजवादी)का तुलसी ढकाल (नगर अध्यक्ष)द्वारा हस्तक्षरित ज्ञापन पत्रमा समस्याको समयमै समाधान नभए उत्पन्न परिस्थितिको जिम्मेवार नगर प्रमुख दिलिपकुमार राई स्वयम् हुनु पर्ने बताइएको छ ।
पथरीशनिश्चरे नगरपालिका अमानवीय, अमर्यादित कार्यले राष्ट्रमै नराम्रो छवी भएको उल्लेख छ ।