• काठमाडौँ, ९ मङ्सिर 

     चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । 
        
        राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो । यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौँकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।  

        समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताउनुभयो ।   

        त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनुभयो । राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

        कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राख्नुभयो । सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राख्नुभएको थियो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…