• बलेवा, १० मङ्सिर

    रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
     
    गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहनुभएका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्मस्थित विद्यालयमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको र त्यसलाई बढाउँदै लैजाने थापाले बताउनुभयो । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाइ छ ।

    रकम सानो भए पनि यसको महत्व ठूलो रहेको र शैक्षिक जगत्मा थोरै भए पनि सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । उक्त रकमको वार्षिक ब्याजमार्फत विद्यार्थीले शैक्षिक सामग्री पुरस्कारस्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका–७ मल्म सिरबारेका प्रधानाध्यापक कल्पना गौतमले जानकारी दिनुभयो ।

    अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका–७ का वडासदस्य लोकबहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्तरुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । गलकोट नगरपालिका–७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापाले समय समयमा विभिन्न सङ्घ संस्थासँगै समाजमा यस्तै परोपकारी काम गर्दै आइरहनुभएको छ । उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रीय समितिले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोषस्वरुप सहयोग गरेपश्चात् विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…