• काठमाडौँ १० मङ्सिर 

     संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।

        विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

        नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिनुभयो । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाउनुभयो । 

        त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाउनुभयो । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिनुभयो ।
        
        बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक÷एक विकेट लिनुभयो । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । 

        त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तीन खेल खेलेको युएई शत प्रतिशत नतिजाका साथ ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । नेपाल अन्तिम खेल आइतबार युएईसँग खेल्नेछ ।

सम्वन्धित समाचार

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…

 इटहरी, २७ पुस इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको त…

काठमाडौं, २१ पुस कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी…