• म्याग्दी, १५ मङ्सिर 

    म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ । 

    सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिनुभयो । 

    “साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेका छौँ ।” बेनीबजार बेनी नगरपालिका–७ र ८ मा पर्छ । न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ ।  

    घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरिएको छ । पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपाली बताउनुहुन्छ । बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मङ्गलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ । 

    नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आजदेखि लागू हुने गरी १५ दिनको समय दिएको बताउनुभयो । “बेनी बजारलाई सुन्दर बनाउने अभियान छ”, उहाँले भन्नुभयो, “होडिङ बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।”

    प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने बताउनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थायी छाप्रा हटाएर पार्किङ व्यवस्थित गरिने बताउनुभयो । बेनीमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी पार्किङ, कालीगण्डकी र म्याग्दी नदी किनारका वैकल्पिक सडक सञ्चालन, खुला ठाउँमा पार्किङस्थल निर्माण र बहुउद्देश्यीय खेलमैदानमा बसपार्क सञ्चालन गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…