उदयपुर, १५ मङ्सिर
उदयपुर जिल्लाको मध्य तथा पश्चिमी र पूर्वी पहाडी क्षेत्रका गाउँघरहरुमा परम्परागत रुपमा नाचिने गरेको सांस्कृतिक बालन नाच हिजोआज लोप हुँदै गएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने ब्राह्मण तथा क्षेत्री समुदायले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागत रुपमा नृत्य गर्दै आएका सांस्कतिक बालन नाच हिजोआज गाउँघरका नयाँ पुस्ताले नाच्न छाडेपछि लोप हुँदै गएको हो ।
विगतका दिनहरुमा जिल्लाका विभिन्न पहाडी क्षेत्रलगायत क्षेत्री, ब्राह्मणको बाक्लो बसोबास रहेका गाउँघरमा धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा विवाह व्रतबन्धमा बालान नाच प्रदर्शन हुने गरेको भए पनि पछिल्लो समय यसको प्रचलन नै हराउन थालेको छ । यो नाचको संरक्षण हुन नसक्दा लोप हुँदै जान थालेको छ ।
अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिहरुमा अहिलेका युवा पुस्ता रमाउन थालेका र यो नाचको संरक्षणमा युवा पुस्ताले उचित ध्यान नदिँदा सङ्कटमा परेर लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाकाहरु निकै चिन्तित बन्न थालेका छन् । उदयपुर गढी गाउँपालिका नेपालटारका ७० वर्षीय कृष्णप्रसाद खतिवडाले भन्नुभयो, “हिजो आफूहरुको पालामा बाजेपुर्खाहरुले परम्परागत रुपमा प्रस्तुत गर्दै आउनुभएका बालन नाचलाई निरन्तरता दिएर बचाउँदै आयौँ तर हिजोआज आफूहरु पनि बूढापाका भइयो, अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेका कारण यो नाच सङ्कटमा परेर लोप हुने खतरा बढ्यो ।”
बाजेपुर्खाको पालादेखि नै प्रचलनमा रहेको प्रख्यात बालान नृत्य हिजोआज दिनानु्दिन लोप हुन थालेर यसको अस्तित्व नै सङ्कटमा परेकामा रौतामाई गाउँपालिका–१ मुर्कुचीका ७५ वर्षीय सोमबहादुर खड्काले समेत निकै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वहरुमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तरता पाउँदै आएको यो सांस्कृतिक नाचको संरक्षणमा ठूलो योगदान पुगेको थियो ।” हिजोआज यस्ता पर्वहरुमा अन्य–अन्य नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीतहरु गुञ्जन्छन्, अहिलेका पुस्ताहरु यसैमा रमाउँदा परम्परागत बालान नाच लोप हुँदै गएको खड्काको भनाइ छ ।
रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय भोजबहादुर राउतअनुसार उदयपुरको रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरीसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटारसहितका क्षेत्रमा केहि बर्षअघिसम्म यो नाचको आयोजना हुँदै आएको थियो । ब्राह्मण र क्षेत्री समुदायको बाक्लो उपस्थिति रहेका ती क्षेत्रमा हुने धार्मिक र साँस्कृतिक महोत्सव र चाडपर्वमा यो नाचको आयोजना हुने गरेको उहाँको भनाइ छ । हिजोआज ती क्षेत्रमा पनि यो नाच देख्न र सुन्न छाडिएको राउतले बताउनुभयो ।
विगतमा बालान नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर यसैको कथावस्तुलाई गीत बनाएर पुरुषहरु संयुक्त रुपमा भेला भएर दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको थियो । “विगतमा बालान नृत्यको रौनक बेग्लै हुन्थ्यो, हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण हाम्रो मोलिक साँस्कृतिक बालन नृत्यको प्रचलन नै हराउन थालेको छ”, लिम्चुङबुङ गाउँपालिका–२ बराहका ७५ वर्षीय शिवबहादुर कार्कीले भन्नुभयो ।
“बालान नाच हिजो हाम्रा बाजे पुर्खाले हरेक चाडपर्व तथा सांस्कृतिक कार्यमा अनिवार्य रुपमा नृत्य गर्ने गरेकाले यसको संरक्षण भएको थियो”, त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका सहप्राध्यापक टीकाप्रसाद पौडेलले भन्नुभयो, “अहिलेका पिँढीले पश्चिमी, हिन्दी र डिस्को नृत्यमा रमाउँछन्, आफ्नो मौलिक संस्कृतिको उपेक्षा गरेका कारण यो नृत्य सङ्कटमा पर्न थालेको छ ।”
बरुवा क्याम्पस गाईघाटका सहप्रध्यापक राजन पोखरेलका अनुसार बालान नृत्यलाई लोप हुनबाट बचाउनका लागि अबका नयाँ पिँढीलाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा बालन नृत्य अनिवार्य रुपमा प्रस्तुत गर्ने हो भने यसको संरक्षण हुनेछ । विगतमा जिल्लाको पहाडी क्षेत्रका विभिन्न गाउँघरमा छरिएर बसोबास गर्दै आएका क्षेत्री र ब्राह्मण समुदायले नाच्ने गरेको लोकप्रिय सांस्कृतिक नृत्य बालन हिजोआज संरक्षणको अभावमा सङ्कटमा पर्दै गएकाले ती समुदायका बूढापाका चिन्तित भएका छन् ।