• धरान, १८ मंसि

       बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ । 
    बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको  हो । कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा  जमिन नगरपालिकासँग भाडामा लिएर गत बैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

    हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उहाँले बताउनुभयो । अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । प्रदेश सरकारको रू ४५ लाख र सहकारीको रू ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो । उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिकरूपले माछा पालन गर्दै आउनु भएका कार्कीको सकृयतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताउनुभयो । 
    कृषि पर्यटनको केन्द्र बनाइने

    बेलका नगरको सदरमुकाम रामपुरबाट करिव चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । निकट भविष्यमा ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएकोे अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 
    “कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ,” उहाँले भन्नुभयो, “यहाँ पाइने बदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ । पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ ।” पर्यटकहरुलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घरबास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेषगरी माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताउनुभयो ।  

    यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ ।  यस क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषि पेशा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…