• म्याग्दी, २७ मङ्सिर

     जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ ।गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । 

        सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मङ्गला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताउनुभयो ।  “अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो आठ महिनायता सडक निर्माणको काम ठप्प बनेको छ ।” सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।  

        बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गर्नुभयो ।  “खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन”, उहाँले भन्नुभयो, “सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।”

        लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताउनुभयो । “पत्र र मौखिकरुपमा काममा फर्कन ताकेता गरेका छौँ”, उहाँले भन्नुभयो, “चैतसम्म थपिएको म्यादभित्र काम सक्न निर्देशन दिएका छाँै । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।”

        बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुङ्गा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताउनुभयो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।  

        समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातवटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताउनुभयो । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  

        मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…