• इलाम, २ माघ

    इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्सको बीचमा सम्झौता भएको हो । 

    नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

    नगरपालिका र तारा एयरलाइन्सका बिचमा भएको सम्झौता १२ उडान अर्थात् तीन महिनाको लागि भएको हो । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाई यात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख बस्नेत बताउँछन् । 

    तीन महिनासम्म नियमित उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । ‘तीन महिनाको ट्रायल फ्लाइट चल्यो भने नियमित रूपमा चल्छ, नभए चल्दैन भन्ने एयरलाइन्स कम्पनीका साथीहरूको कनक्लुजन छ’, बस्नेतले भने,‘यो विमानस्थल जनस्तरबाटै सुरु भएको हो । जुन अपेक्षाबाट पैसा हालिएको थियो त्यो अपेक्षा पुरा होस भन्ने हामी चाहन्छौ ।’

    इलामबाट नियमित उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकतर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्नेछन् । 

    विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ । 

    फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दा पनि उडान सुरु भएको थिएन । विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…