• बैतडी, ४ माघ

    बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेकाछन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

    यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेको अवस्थामा भेटिएको थियो । 

    यस्तो छ घटना

    २३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा हराएका व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मारेको होसम्म लेखे । स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मार्न खोज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हारगुहार गर्दै अपहरणको नाटक गरेका थिए । 

    हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले हराएका व्यक्तिलाई कसैले मारेको किटान गरेकाले प्रहरीले संकाको घेरामा राख्दै थुनामा राखेको थियो ।

    थुनेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मारेर गुफाभित्र पुरेको बताए । हरिसले भनेकै गुफामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

    घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बेपत्ता थिए । 

    उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले हत्या गरेको स्वीकार गरिसकेकाछन् ।
     
    घटनामा उनीमात्रै संलग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए । 

    डेढ महिनाअघि हत्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । हत्यामा अरू पनि संलग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ ।

    उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…