• तनहुँ, ५ माघ

    शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ । 

    महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् । महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला पुर्‍याएर विक्री गरेका हुन् । ‘यसपालि राम्रो फलेको थियो । बेलाबेलामा वर्षात हुँदा कुहिएर धेरै झरे । पानी नपरेको भए अझ धेरै कमाई हुन्थ्यो होला’, उनले भने ।  सुन्तला विक्रीबाट भएको कमाइबाट करिब पाँच लाख रुपैयाँ त गोडमेल, खनजोत, औषधिउपचार र मलजलमा खर्च हुने उनले बताए । 

    जरेबरका दुर्गा भुजेल पनि यसपालि सुन्तला विक्रीबाट मनग्य आम्दानी लिन सफल भए । १३ लाख ९० हजार रुपैयाँको सुन्तला उनको बगानबाटै विक्री भएको हो । आम्दानी भएको रकमबाट दुई लाख रुपैयाँ गोडमेल र खनजोतका लागि छुट्याएको उनले बताए । उनका अनुसार बाँकी रकम केही घर खर्चमा सकिन्छ त केही रकम बचत समेत हुन्छ ।  ‘कोदो मकै लगाउन छाडेर बारीभर सुन्तला मात्र लगाएका छौं । आम्दानीको मुख्य स्रोत नै सुन्तला बनेको छ पछिल्ला वर्षहरूमा’, उनले भने । 

    बगानको सुन्तलाले बजार पाउनलाई कुनै समस्या नरहेको भुजेलले जानकारी दिए । ‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ’, उनले अगाडी थप्दै भने, ‘सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं । मेहनतको अनुसार मूल्य नपाएको जस्तो लाग्दछ ।’

    महत र भुजेल प्रतिनिधि किसान मात्र हुन् । यी दुईले जस्तै शुक्लागण्डकी नगरपालिका–११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैचे, ज्याङलादीका हरेक घरले सुन्तला विक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गर्छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ ।

    सुन्तलाका लागि हावापानी र माटो उपयुक्त भए पनि यस क्षेत्रका किसानले ६० को दशक पछाडि मात्र व्यावसायिक सुन्तला खेती थालेका हुन् । सुन्तला खेतीमा लागेपछि किसानको जीवनस्तर उकासिएको सुन्तला जात फलफूल ब्लक सञ्चालक समिति नाम्सीकोटका अध्यक्ष जगत महत बताउँछन् ।  
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको नाम्सीकोट सुन्तला ब्लकमा १३३ किसान आबद्ध छन् । समूहमा आबद्ध हरेक किसानले कम्तीमा एक लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म वर्षेनी आम्दानी लिने उनले बताए । 

    यो वर्ष झण्डै चार करोड रुपैयाँको सुन्तला ब्लक क्षेत्रबाट बाहिरिएको उनले जानकारी दिए । विगतका केही वर्षयता वर्षेनी चार करोड रुपैयाँकै हाराहारीमा सुन्तला विक्रीबाट किसानले आम्दानी लिँदै आएका छन् ।  ‘कोदो मकैको खेती गर्ने चलन त यतातिर हराइसक्यो । सबै सुन्तला खेतीमा रमाएका छन् । आम्दानी राम्रो भएपछि सबैको दिलोज्यान सुन्तला खेतीमा छ’, ब्लक सञ्चालक समितिका अध्यक्ष महतले भने । उनका अनुसार गाउँका अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्केर सुन्तला खेतीमा रमाइरहेका छन् । सुन्तलाका बिरुवाको स्याहारसुसारमा व्यस्त हुन्छन् । 

    नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैँचे, ज्याङलादीका हर घरमा सुन्तलाको सानाठूला बगान छ । मंसिरदेखि १५ माघसम्म सुन्तलाले पहेँलपुर देखिन्छ यो क्षेत्र । सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरूको प्रतिस्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौंको कालीमाटी बजार बाहेक अन्त कतै जाँदैन । सुन्तलाले मनग्य आम्दानी मात्रै दिएको छैन स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । 

    सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफूल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए । ‘सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, सडकसम्म बोकेर ल्याउने र लोड गर्नलाई स्थानीयले रोजगारी पाउँछन् । टिपेर सकिएपछि फेरी एक महिना गोडमेल गर्नलाई पनि रोजगारी सिर्जना हुन्छन्’, उनले भने । सुन्तला टिप्न र गोडमेल गर्न जानेले दैनिक सात सय रुपैयाँसम्म ज्याला पाउँछन् ।

सम्वन्धित समाचार

लमजुङ,  २७ वैशाख लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको मा…

काठमाडाैं, १६ वैशाख  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेक…

काठमाडौं, ११ वैशाख नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको व…

सुर्खेत, ५ वैशाख  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी छ । …