• लमजुङ, ११ माघ
    जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

    सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो ।

    राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ ।

    दैनिक ६० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको प्रजिअ वैद्यको भनाइ छ । यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने गरिए पनि पछिल्लो साता परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् । सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचय पत्र बनाउने सेवाग्राही बढेको हो । 

    यसअघि एउटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले अहिले सेवाग्राहीको चाप बढेपछि दुईवटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ । तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउनसक्ने छन् । प्राप्त परिचय पत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले पनि राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हाल प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको राष्ट्रिय परिचय पत्र जिल्लाका सबै स्थानीय तह र वडाबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…