• खोटाङ, ११ माघ

    खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैंची उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २४५ मेट्रिक टनले बढी हो ।

    मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैंचीको उत्पादन बढेको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा लगातार तीन आर्थिक वर्षयता अलैंची उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा अलैंची खेतीका लागि योग्य १४ हजार २ हेक्टर जमिनमध्ये १० हजार ६४ मा लगाउने गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । 

    खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीबाट करिब ३ करोड रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उत्पादित अधिकांश अलैंची सरदर प्रतिमन ३५/४० हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने प्रतीक्षामा छन् । अलैंचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैंची बिक्री गरेका किसान भने निराश छन् ।

    केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती सुरु गरेका किसानले वर्षेनी अलैंची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । 

    धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैंचीको बोट झुल्न थालेका छन् । भाउ घट्दा पनि अन्य खाद्य बालीको तुलनामा अलैंचीकै आम्दानी बढी हुने गरेको केपिलासगढी गाउँपालिका-३ बासपानी छिप्रुङका किसान ध्रुवराज राईले बताए ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…