• मुगु, १६ माघ 

    छायानाथ रारा नगरपालिका–१ छत्यालकी ३७ वर्षीया जौमति नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन् । यसरी बिहानै गमगढी बजारतिर जानु उनको रहर होइन बाध्यता हो । उनलाई पनि अरु महिलालाई जस्तै बिहानभरी घरमा केटाकेटीसँग बस्ने रहर नभएको होइन । केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने मन छ । तर, यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन् । 

    छायानाथ बजारमा उनी कवाडी संकलनको काम गर्छिन । यहीबाट आएको आम्दानीले उनको परिवार चलिरहेको छ । घरमा चलाउन आम्दानी गर्ने कोही नभएपछि उनी आफै यो काममा लागेकी हुन् । तीन छोरा, तीन छोरीकी आमा जौमतिले यहीबाट आएको आम्दानीले आधा दर्जन छोराछोरी र श्रीमानको खर्च धानीरहेकी छिन् । 
    कवाडी संकलन गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आम्दानी नभए पनि बिहान बेलुका छाक टार्न पुगेको उनले बताइन । उनी भन्छिन, ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’ उनले १०–१५  रुपैयाँमा कवाडी बेच्ने गर्छिन । कमाइ थोरै भए पनि खटाइ धेरै हुने उनी बताउँछिन् ।


    जौमतिले यो काम १५ वर्षदेखि गर्दै आएकी छिन् । एक दशकभन्दा बढी समयसम्म एउटै काम गरे पनि उनको जीवन र दैनिकी उस्तै छ । सामान्य सक्षरसमेत नभएका कारण उनले अन्य पेशा गर्न आट समेत नगरेको बताइन । उनी भन्छिन्, ‘भारत जाउ भने घरमा बालख छोराछोरी छन् ।’ 

    फुर्सद भएका बेला उनी सामान ओसार्ने काम पनि गर्छिन । बजारका व्यपारीहरूले ल्याएको सिमेन्ट, चामल, नुनलगायत खाद्यान्न ट्रकबाट झार्ने समेत गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सिमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नु हुँदैन भन्छन । तर, आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ ।’

    ‘स्थानीय सरकारले केही सिपमुलक तालिम दिए हुने’
    जौमतिले आफूसँग केही सिप नभएकाले यस्तो दुःख गर्नु परेको बुझेकी छिन् । यसै कारण स्थानीय सरकारले विपन्न र गरिबलाई लक्षित गरी केही सिपमुलक तालिम दिनु पर्ने माग गरेकी छिन् । 

    ‘चुनावका बेला विभिन्न प्रलोभन, लोभ देखाएर भोट माग्छन् जितेपछि वास्ता गर्दैनन् । स्थानीय सरकारले सिपमुलक काम दिए त्यसैबाट आम्दानी गर्न सक्थ्यौ की,’ उनले भनिन् । स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दासमेत नगरपालिकाले विपन्न, गरिब, महिलाको लागि कुनै लक्षिय सिपमुलक कार्यक्रम नल्याएको उनी बताउँछिन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…