• महोत्तरी,  २२  फागुन 

    महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफै हुन् । उनको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

    नगरपालिकाले यहाँका थारु महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने बिषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरेकी छिन् । उनी आजकाल दिनभरी खेतबारीमै हुन्छिन् । उनले खेतमा खर्बुजा र तरकारी फलाएकी छिन् । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उनले भनिन् ।

    नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ ।

    हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी छिन् । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारु समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरु स्वरोजगार र सीपयुक्त भएका छन् । 

    हेमलता जस्तैं २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामुहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

    दुई कोठे साझा सुविधा केन्द्रमा थारु समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफंै स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी ब्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

    ‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भुमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भने । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सिपमुलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

    महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने बिषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरुक बनाएको नगरप्रमुख विदुर कार्की वताउँछन् । गरिबी उन्मुलनमा नगरपालिका औपचारिक रुपमा लागेको उनलको भनाइ छ । 

    नगरपालिकाले नगरभरीका करिब २४ सय घरपरिवारलाई गरिबीको रुपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मुलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताए ।

    गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …