• डडेल्धुरा,  २२  फागुन

    ‘विद्यालयमा खानेपानी छैन् खानेपानी नभएको ठाउँमा शौचालय हुने त  कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ 

    उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा ६ जना विद्यार्थी नियमित आउँछन् । 

    ‘भूवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । अन्त कतै विद्यालयको नाम लेखेको बोर्ड छैन । झट्ट हेर्दा जो पनि विद्यालयनै हो र भनेर झुक्किन्छन् ।  

    २०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरू भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ । 

    ‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’ उनले भने । 

    विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बालविकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थाई र एक जना करारका शिक्षक छन् । 

    बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन् । 

    शिक्षकको मनलाग्दी 
    पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीनसम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रहेको पूर्वविद्यार्थी पवन ऐरले बताए । 

    ‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन । त्यहीँ भएर अविभावकले यता पढाउन खोज्दैनन्,’ उनले भने, ‘म यतै पढेको थिए । उतैबाट धेरै कुरा सिके । अहिले अवस्था यस्तो छ ।

    विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए । उनी भन्छन्, ‘कहिले काँही त विद्यालयमा हामी मात्रै आउँछौं ।’ 

    औधोगिकग्राम सञ्चालन गर्न विद्यालय सार्ने खेल 
    अमरगढी नगरपालिकाले विद्यालयनजिक संयुक्त ग्यारेज बनाउने भन्दै डोजर प्रयोग गरेर फिल्ड निर्माण गरेको छ । नौ लाख रुपैयाँ लगानी गरेर निर्माण गरेको ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ । 

    अब, सोही ठाउँमा नगरले औधोगिक ग्राम सञ्चालनको तयारी गरेको छ । विद्यालयनजिक औधोगिक ग्राम सञ्चालनको तयारी थालेको नगरले विद्यालय अन्यत्र सार्न विद्यालयलाई सहयोग नगर्ने गरेको स्थानीयको आरोप छ । भुवनेश्वरी प्राथमिक विद्यालयनजिक संस्थागत विद्यालय सञ्चालनमा छ ।

    संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनु पर्ने भए पनि भुवनेश्वरी प्राथमिक  विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐर बताउँछन् । 

    बालबालिकालाई टाढाको विद्यालयसम्म जानआउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ । आगामी दिनमा यस विद्यालयको विकल्प खोज्ने नगरपालिकाका शिक्षा प्रमुख हेमन्त पन्तको भनाइ छ । 

    पन्त भन्छन्, ‘त्यो विद्यालयमा वार्षिक रूपमा प्रशासनिक खर्चको लागि अनुदान रकम जान्छ । सेतो पाटी, बालमैत्री कक्षाकोठा व्यवस्थापन लगायतका काममा उहाँहरूले खर्च गर्नुपर्छ । तर, यी कुराहरू प्रअ र विद्यालय व्यवस्थापन समितीसँग जोडिन्छ । उहाँहरूले ध्यान दिनुपर्छ । हामीहरू अनुगमनका क्रममा गएका छौं । सुझाब पनि दिएका छौं ।’ 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…