• काठमाडौं, ६ चैत 

    नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ ।

    काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिक भएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।

    फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।

    निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताए । उनले नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाए ।

    अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् ।

    निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज-अप’लाई आफूले नेपाली चलचित्र र फिल्मकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा व्याख्या गर्दै नेपाली फिल्म पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको बताए ।

    लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।

    ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो । ५९९ रुपैयाँ मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जनाइएकाे छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…