• चितवन, १४ चैत

    चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलLले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।

    स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो ।

    स्थानीयले बताएअनुसार करिब १५ घरमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । आगजनीपछि मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।

    अँध्यारो भइसकेकाले घर गन्न नसकिएको भन्दै उनले एक पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताए । कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरिदिएको हो ।

    ‘धेरैलाई त्यहाँबाट हामीले स्थानान्तरण गरेर तल ल्याइसकेका छौँ । अहिले फेरि केहि मान्छेहरु त्यहाँ गएर बस्न थाल्नुभएको रहेछ,' उनले भने, ‘त्यहाँ बस्नुहुन्न । तल ल्याउनुपर्छ भनेर हामी सल्लाहमै थियौँ । तर हिजो त्यहाँ गएर हामीसँग समन्वयन नगरी आगजनी गर्ने काम भयो । बस्न नहुने ठाउँ भएपनि आगजनी गर्न हुन्नथ्यो ।’

    एउटा घरमा नागरिकतालगायतका महत्वपूर्ण कागजातसहित आगजनी गरिएको भन्ने जानकारी आएको उनी बताउँछन् ।

    स्थानान्तरण गरेर ल्याइसकिएका केहि मान्छे फेरि फर्किएर सोहि ठाउँमा गएको र अधिकांश मान्छे जिल्ला बाहिरबाट आएर बसोबास गर्न थालेको उनले बताए । कुसुमखोलामा फेरि २५ भन्दा बढी घर बनाइसकेका छन्, जसमध्ये करिब १० वटामा मान्छे बसोबास गर्ने गरेको उनी बताउँछन् ।

    स्थानीय पुराना बासिन्दा काजीमान प्रजाबाहेक सबैको घर नयाँ बनाएको पाइएको उनले बताए । गत वर्ष निकुञ्ज प्रशासनले घरगोठमा आगजनि गरिदिएपछि पनि उनी स्थानान्तरण हुन मानेका थिएनन् । 

    आफुलाई छ कठ्ठा जग्गा नदिएसम्म स्थानान्तरण भएर नजाने उनले अडान लिँदै आएका छन् । नगरपालिकाले दिने एक कठ्ठामा खेतीपाती गर्न नपुग्ने भन्दै उनले स्थानान्तरण हुन नमानेको मेयर ढकालले बताए ।

    नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरलाई बगई, ८० घरलाई राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा ल्याएर स्थानान्तरण गरेको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक-पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताउँछन् । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।

    ‘एकचोटि त्यहाँबाट स्थानान्तरण गरिसकिएको हो । फेरि पनि निकुञ्जको क्षेत्र कब्जा गर्नेगरी नयाँ घर टहरा बनाइएको थियो । हामीले बारम्बार त्यहाँ गएर हटाउने गरको थियौँ’, उनले भने, ‘आफ्नो क्षेत्राधिकार खाली गर्न मान्छे नबसेका सामान्य घरटहरामा आगजनी गरेको भन्ने कुरा आएको छ ।’

    निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो ।

    फोटो : सन्तोष पनेरुको फेसबुकबाट 

सम्वन्धित समाचार

काठमाडौं,  १२ मंसिर अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेक…

सिरहा, ११ मंसिर गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगा…

भैरहवा, ११ मंसिर रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृ…

भैरहवा, ८ मंसिर   रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विज…