• स्थानीय तहको निर्वाचन नजिकिएसँगै हेटौंडामा चुनावी सरगमी बढ्दो छ। बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने चर्चा चलिरहेको छ । 

    नेकपा एमाले पहिला झैं आफ्नो विजयी झण्डा फहराउने दाउमा रहेको छ भने पाँच दलीय सत्ता गठबन्धन पनि आफ्नो जित निकाल्न प्रयासरत रहेको छ । 
    एमालेबाट मेयरको लागि अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मिना कुमारी लामाले उम्मेदवारी दिएकी छिन् । 

    यसअघि २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको थियो । तर त्यसबेला पनि हेटौंडामा एमालेले जित निकालेको थियो । त्यतिबेला एमालेबाट उपमेयरमा विजयी भएकी मिना कुमारी लामा नै अहिले गठबन्धनबाट मेयरको उम्मेदवार छिन् । बि.सं. २०४९ र २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेकै डोरमणि पौडेल मेयर र हरिबहादुर महत उपमेयर भएका थिए । अघिल्लो पटक भएको गठबन्धनलाई पनि पराजित गरेकाले यसपटक पनि पराजित गर्नेमा ढुक्क रहेको एमालेको उम्मेदवार पौडेल बताउँछन् । यसपटक एमालेलाई राप्रपा नेपालले पनि साथ दिएकाले थप सहज भएको उनी बताउँछन् ।

    यता गठबन्धनलाई भने मत बदर हुने डर रहेको छ । ‘हामीले मतदाताहरुलाई अपिल गर्ने क्रममा मतदानको तरिका पनि सिकाएका छौं,’ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार बनेका राजेश बानियाँले भने । बि.सं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार ६१५ मतले विजयी हुँदा ७ हजार भन्दा बढी मत बदर भएको थियो । एमाले विभाजन र कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा गठबन्धन बलियो देखिन्छ । यद्यपी असन्तुष्ट मत र मतपत्रमा हुन सक्ने अस्पष्टताले गठबन्धनलाई धक्का पुग्ने देखिन्छ ।

    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका दिपक बहादुर सिंहको आगमनले दुई तर्फी भिडन्तमा नयाँ मोड थपिएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हेटौंडामा बलियो दाबेदारी पेस गरेको छ ।

    मकवानपुरमा प्रभावशाली नेता मानिने कमल थापा राप्रपा अध्यक्षमा पराजित भएपछि अलग पार्टी स्थापना गरेका उनको दल राप्रपा नेपालले मकवानपुरको कुनै पनि स्थानीय तहमा उम्मेदवारी दिएन ।

    राप्रपाबाट उम्मेदावारी दिएका दिपक सिंह आफ्नो उम्मेदवारी विशुद्ध जनताको सेवाका लागि भएको बताउँछन् । ‘जनताको चाहना भएकै कारण मैले उम्मेदवारी दिएको हो । मैले जितेँ भने जनताकै सेवा गर्ने हो । भ्रष्टाचारमुक्त हेटौंडा बनाउने हो’ उनले भने, ‘धेरै ठूला योजनाहरु मसँग छैनन्, ‘सामान्य कामहरु गरे मात्रै पनि हेटौंडाका जनताले महसुस गर्नेछन् । अहिले ठूलो कुरा गरेर हुन्न । जनताले विकास चाहेका छन् । म त्यो पूरा गर्न सक्छु ।’

    एमाले र गठबन्धनको चर्चा चलिरहेकै बेला दुवै तर्फको असन्तुष्ट मत उनले तान्ने चर्चा पनि चल्न थालेको छ ।

    त्यसमध्ये पनि गठबन्धन हुँदा उम्मेदवार बन्न नपाएको वा विभिन्न कारणबश रहेको असन्तुष्टिको फाइदा उनले उठाउने अड्कलबाजी गरिन थालेको छ । हेटौंडा उपमहानगरपालिकाको मेयर दावी गरेको कांग्रेसभित्र असन्तुष्ट समूहको ठूलो जमात छ । कांग्रेसको आन्तरिक विवादकै कारण पनि गठबन्धनको मत प्रभावित हुन सक्ने आंकलन गरिएको छ । यही असन्तुष्ट मत तान्ने दाउमा सिंह रहेका छन् ।

    एमालेका अनन्त पौडेललाई टिकट दिनहुँदैनथ्यो भन्ने पक्षको मत पनि राप्रपाको नजरमा छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको जम्मा मतदाता ८३ हजार ५ सय ९७ रहेका थिए भने अहिले मतदाता संख्या बढेर १ लाख ४ हजार ४ सय ७३ पुगेको छ ।

सम्वन्धित समाचार

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…

नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् । सुहाङले नेता कार्यकर्ता…