• चितवन, १० जेठ 

    भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    ‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनिन् । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने दाबी गरिन् । 

    मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन् । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए । 

    आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन् । 

    ‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,' उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ ।’ महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन् । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन् । 

    महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन् । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन् । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन् ।

    उपमेयरमा निर्वाचित अधिकारीले मेयर दाहालका योजना सम्पन्न गर्नमा आफ्नो सहयोगी भूमिका रहने बताए । ‘काम गर्ने क्रममा आउने चुनौतीलाई अवसरका रुपमा लिएर भरतपुरको चौतर्फी विकास गर्नका लागि सहयोगी भूमिका रहन्छ । हाम्रो त्यो दायित्व पनि हो’, उनले भने । 

    उपमेयरमा निर्वाचित अधिकारीले ५२ हजार ८०३ मत ल्याए । निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत ल्याइन् । निर्वाचित मेयर लगायतका जनप्रतिनिधिले आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…