• काठमाडौं,  ४ असार 

    काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ 'वसन्त'लाई चाबी हस्तान्तरण गरेर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

    सफा सुनौलो नेपालकी संस्थापक एवं राकेश हमालकी पत्नी सुनिता हालले विद्यालयको लागि दिगो, भूकम्प प्रतिरोधी र भरपर्दो संरचना निर्माण गरेर प्रदान गर्न पाउँदा खुसी लागेको बताएकी छन् । 'मेरो श्रीमान‍्को सपना पनि शिक्षाका क्षेत्रमा केही गर्ने थियो । आज उहाँकै नामबाट ६ कोठो सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,' उनले भनिन् ।

    कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता देवीराम उपाध्यायले सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा काठमाडौंको दुर्गम गाउँमा भवन बन्नु सुखद कुरा भएको बताए। उनले नयाँ भवन बनेसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

    'लगानीकर्ता आकर्षित बने । इन्जिनियर, ठकेदार सबैले समयमै काम गरे । र, अपेक्षाकृत रूपमा समयमै भवन निर्माण सम्पन्न भयो । यसले विद्यार्थी र शिक्षकमा थप हौसला प्रदान गर्ने छ,' उपाध्याय भन्छन् ।

    विद्यालयका प्रधानाध्यापक तामाङले सबैको सहयोगले स्कुल स्कुल जस्तो भइरहेको बताए । उनले काठमाडौं जिल्लामै रहेर पनि भौतिक संरचना अभावमा समस्या खेपिरहेको विद्यालयलाई नयाँ भवन प्राप्त भएसँगै पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

    कार्यक्रमका प्रमुख अतिथि लामाले अहिलेको आवश्यकता पूर्वाधार निर्माणसँगै प्राविधिक शिक्षाको भएको औँल्याएका थिए । उनले नयाँ भवन विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत दातृ निकायबाट विद्यालयलाई सहयोग हुनेमा आफू आसावादी रहेको धारणा राखे ।

    'अब भौतिक पूर्वाधारसँगै हाम्रा नानीबाबुहरूलाई समयसापेक्ष प्राविधिक शिक्षामा समेत जोड दिनुपर्छ । शिक्षकहरूले समयानुकूल प्रयोगात्मक शिक्षामा जोडिदिनु नै हुने छ । त्यसका लागि दातृ निकाय र स्थानीय सरकारबाट सहयोग हुने नै छ,' उनले भने । उनले सामाजिक व्यक्तित्व हमालको नाममै भवनको स्थापना गरिनु थप सह्रानीय कार्य भएको बताए । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिका नाममा यस्ताखाले सम्मानको अपरिहार्यता रहेको लामाले बताए ।

    दातृ संस्थाका लुईउल्फ ग्राम र जोलाउल्फ ग्रामले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आफूहरूको सहयोग रहने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…