• काठमाडौं,  १०  साउन
    यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । 

    भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । 

    माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गर्याे । 

    नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । 

    खेलको ४२औं मिनेटमा दीपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रीकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे । सोहि  रिबाउन्ड बललाई दीपेशले करिव २५ यार्डबाट गोलमा परिणत गरे । 

    दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हावी भयो । ५८औं मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ढम्याउन सकेनन् । 

    ६१औं मिनेटमा नेपालले तेस्रो गोल गर्याे । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता बनायो । 

    खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४–० को जित दिलाए । 

    अधिकांस समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केहि राम्रा अवसर गुमाएको थियो । 

    आयुष, सुगम र दिपेशले पाएका केहि अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केहि  राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए । 

    यस अघि यु १८ र यु १९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ । 

    प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्नेछ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ  । 

    लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

सम्वन्धित समाचार

 जानकी (बाँके), १७ कात्तिक : ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीब…

 काठमाडौँ, २० भदौ : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितक…

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…