• महोत्तरी,  १२  साउन

    महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।

    गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ ।

    गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार सबैभन्दा बढी चुहावट यही क्षेत्रमा भइरहेको छ । विशेषगरी गौशालाको पर्सा, मगरथाना, खेस्राहा, बिजलपुरा, हात्तिलेट जस्ता ठाउँमा ठूलो मात्रामा चोरी हुने गरेको पाइएको छ ।

    प्राधिकरणमा चुहावटका अत्यधिक सूचना आउन थालेपछि नेपाल प्रहरीको सहयोगमा अहिले रात्रिकालीन अप्रेसनसमेत सुरुवात गरिएको प्राधिकरणले जानकारी दियो ।

    गौशाला वितरण केन्द्रका अनुसार पछिल्लो १ हप्तामा १५ भन्दा बढी विद्युत् चोरी गरेर सञ्चालन गरिरहेको मेसिन नियन्त्रणमा लिइएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावटको दर निक्कै उच्च थियो । वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार अघिल्लो वर्ष ३२ प्रतिशत चुहावट भएको थियो भने यो वर्ष यसलाई घटाएर २८.८५ प्रतिशतमा झारिएको छ ।

    विद्युत् आउने,जाने समस्या खेपिरहेका सेवाग्राहीहरू यसबाट छिट्टै मुक्त हुने प्रमुख मिश्रको दाबी छ । एक वर्षदेखि चुहावटका समस्यालाई पहिचान गरी गहिराइमा पुग्ने प्रयास गरिरहेको उनले जानकारी दिए । यो वर्षमात्र विद्युत्  चोरी गर्नेलाई लिएको जरिवानास्वरुप २५ लाख राजस्व उठेको छ ।

    प्राधिकरणले चोरी गर्नेलाई निगरानी बढाएपछि सो कार्यमा संलग्न १२६ जनालाई पक्राउ गरेको छ भने २ सय भन्दा बढी उपकरण र मेसिन जफत गरिएको छ  ।

    कम भोल्टेज आउने, लाइनमा उतारचढाव आइराख्ने जस्ता समस्याले जिल्लाका व्यापारिक सहरमा व्यापारी प्रताडित बन्दै आएका छन्  ।

    कतिपयले प्राधिकरण र ब्याट्री, युपिएस, जेनेरेटर व्यापार गर्ने व्यापारीहरूको मिलेमतोमा नै लाइन काटिरहने समस्या बनेको स्थानीयको आरोप छ ।

    के भन्छन् स्थानीय ?

    ब्यापारीमात्र हैन लाइनमा आइरहने अवरोधले स्थानीयसमेत आजित बनेका छन् ।

    स्थानीयहरूले प्राधिकरणप्रति आक्रोश व्यक्त गर्दै अघोषित लोडसेडिङको जिम्मेवारी लिनुपर्ने बताए ।

    'लाइन काट्ने समस्या प्राविधिक समस्या हो कि योजनामुताबिक नै काटिएको त्यसको प्रस्टीकरण प्राधिकरणले सेवाग्राहीलाई दिनुपर्छ,' स्थानीय रामनाथले भने ।

    विशेषगरी युपिएस तथा ब्याकअप नराख्ने आइटी सम्बन्धित व्यापारीलाई लाइन आउने र जाने समस्याले निक्कै समस्या बन्दै आएको छ ।

    'लोडसेडिङ छैन र हुँदैन भनेर ब्याकअप राखिएन । झ्याप-झ्याप लाइन जाने समस्याले मेरो कम्प्युटर नै बिग्रिसक्यो, काम समयमा दिन सकिएको पनि छैन,' बर्दिबास कि सविता भण्डारीले भनिन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…