• सुर्खेत,  २१  साउन

    वीरेन्द्रनगर नगरपालिका-१२ मा निर्माणधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।  

    हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब पाँच सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला १८ साउनमा ठेकेदार र प्राविधिकको लापरवाहीले भत्किएको हो । तर अविरल वर्षाका नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ ।  नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।     

    कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नाला निरीक्षण गर्दै यथाशीघ्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न उनीहरूले निर्देशन दिएका हुन् । 

    नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमीकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारकाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरीक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकोले नाला भत्किन पुगेको तर्क गरे ।  

    तर निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्विकारेका छन् । आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टिमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबाबमा सडक लेवलमा (स्टिमेटभन्दा बाहिर गएर) नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।          

    उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब एक करोड लागतमा विध्या एन्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो । गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्‍याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…