• लमजुङ, १४ कात्तिक 

    लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ स्मार्ट भिलेज एवं सुखी गाउँ घलेगाउँमा पर्यटकको ओइरो लागेको छ । नेपालीको महान चाड तिहार सकिएलगत्तै आन्तरिक पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । 

    तिहार मनाएर पनि पर्यटक थप रमाइलो गर्न घलेगाउँमा पुगेका छन् । स्मार्ट भिलेज घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार तिहारको बिदा सकिएलगत्तै पनि विदा भएकाले बिदा मनाउन पर्यटक आएका छन् । 

    शनिबार दुई सयजना पर्यटक गाउँ पुगेका छन् । तिहार सकिनु, मौसम सफा हुनु र सार्वजनिक बिदाको दिन परेकाले पर्यटक घलेगाउँमा रमाउन पुगेका हुन् । यसअघि दैनिक ५०/६० जनाको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गर्थे ।

    अहिले बाटो सहज भएकाले पर्यटक घुम्न घलेगाउँ जानेका गरेका छन् । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदाको समय कटाउन विद्यार्थी, कर्मचारी मात्र नभएर परिवार नै लिएर पनि जाने गरेका छन् । गाउँ आएर मनोरम दृश्यसँग रमाउने, फोटो खिच्ने, परिवारसँग रमाउने, स्थानीय कला, संस्कृतिमा रमाउने गरेका छन् । 

    पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ४४ घरमा विस्तार भएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

    घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।

     गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…