•  बेनी, १५ पुस 
     धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे ।

    तत्कालीन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक पूर्वाधार निर्माण गरेर सेवाप्रवाह भइरहेको यस गाउँपालिकावासीले सरकार गाउँमै पुगे पनि विकासका आधारभूत पूर्वाधारसँगै सेवा र सुविधाबाट समेत अझै बञ्चित छन् । मुख्यगरी सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने सडक र गाउँपालिकादेखि वडा जोड्ने सडकको अवस्था दयनीय छ । यस गाउँपालिकाको वडा नं १ गुर्जामा अझै सडक सञ्जाल पुग्न सकेको छैन भने दर्जन बढी अन्य वडाका बस्तीमा पनि सडक पुगेको छैन ।

    सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मुना जोड्ने अधिकांश सडक कच्ची छ । हिउँदमा धुलो, बर्खामा हिलोका कारण सडक जीर्ण अवस्थामा छन् । विकासका आधारभूत पूर्वाधार मानिने सडकको सहज पहुँच नभएकै कारण धवलागिरिवासीले गाउँमा सरकार पुगे पनि विकासको अनुभूति गर्न नपाएको मुनाका स्थानीय युवा विजय भण्डारीले बताउनुभयो । 

    “सरकार त गाउँमा आयो, तर अहिलेसम्म मोटरबाटो राम्रो बन्न सकेको छैन, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, खानेपानीलगायतका अन्य पूर्वाधारको पनि कमि नै छ”, उहाँले भन्नुभयो । हिलो, धुलो, भिर र साँघुरा सडकमा दैनिकरूपमा सदरमुकाम बेनी आउने दर्जनौँ सवारीसाधन जोखिमपूर्ण तवरले ओहोर–दोहोर गर्नुपर्ने बाध्यतामा छन् ।

    मुनामा अहिलेसम्म बैंकको स्थापनासमेत भएको छैन । सडकको सहज अवस्था र सुरक्षाको बन्दोबस्त नहुँदा धवलागिरि गाउँपालिकाको वित्तीय कारोबार ताकममा रहेको प्रभु बैंकको शाखामार्फत हुने गरेको छ । उपभोक्ता समितिले समेत पालिकामै वित्तीय पहुँच नहुँदा सास्ती व्यहोरेका छन् । भर्खर मात्रै मुनाको घट्टेखोलामा गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण सुरु भएको छ । 

    सडकको अवस्था स्तरीय नभएको र दुर्गम पालिकाका रूपमा रहेकाले कर्मचारीसमेत आउन नमान्ने र आएका पनि टिकेर नबस्ने भएकाले सदरमुकामबाट पालिकासम्म स्तरीय सडक बनाउने योजनाका लागि पहल थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धवलागिरि गाउँपालिकाको मुनालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–बावियाचौर–दरबाङ–ताकम–मुना सडक पश्चिम म्याग्दीकै भाग्यरेखा मानिन्छ । 

    जिल्लाका तीन स्थानीय तह समेटिएको यस सडकलाई स्तरीय बनाउन बजेट विनियोजन भएर आयोजना सञ्चालन भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले योजना थलिएका छन् । बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्रको काम सकिए पनि त्यहाँदेखि माथिको सडक कालोपत्र र ग्राभेलका लागि सञ्चालन भएका आयोजना थलिएका छन् ।
     
    थलिए दुई आयोजना

    मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरबाङ–मुना सडकखण्डअन्तर्गत सिमबाट रनवाङसम्मको चार किलोमिटर सडकलाई कालोपत्र गर्न सञ्चालन भएको सडकको काम सुस्तगतिमा अघि बढेको छ । डिबिएसटी प्रविधिको कालोपत्र गर्ने गरी २०७८ पुस १८ मा पूर्वाधार विकास कार्यालयसँग अमर–देवसयर जेभीले रु १० करोड ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक पराकिलो बनाउनेलगायतका काम सुरु गरेको यस योजनाको आगामी असारसम्म निर्माणकार्य सम्पन्न गर्ने म्याद रहेको छ । 

    हिउँदयाम मध्य भइसक्दासमेत निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रनबाङबाट मालिका गाउँपालिकाको केन्द्र दरबाङसम्मको छ दशमलव आठ किलोमिटर लामो सडकलाई कालोपत्रका लागि सञ्चालन भएको योजना अधुरै छ । 

    विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभीले अहिलेसम्म जम्मा ५० पतिशतमात्रै भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले जानकारी दिनुभयो । गत वर्षदेखि नै काम छाडेको निर्माण कम्पनी अहिलेसम्म पनि कार्यक्षेत्रमा नफर्किएपछि लिखित र फोनमार्फत पटक–पटक ताकेता गरिएको उहाँले बताउनुभयो । 

    “मुख्य ठेकेदारले काम नगर्ने, पेटीमा काम गर्नेले मूल ठेकेदारबाट पैसा नपाएपछि बीचैमा काम छाड्ने भएकाले जिल्लाका ठूला आयोजना अधुरा र अलपत्र पर्ने अवस्थामा पुगेका हुन्, हामीले निरन्तर ताकेता गरिरहेका छौँ, बहुवर्षीय योजनामा बजेट पनि आएको छ, तर निर्माण कम्पनीले काम गर्ने तत्परता देखाएका छैनन्”, उहाँले भन्नुभयो । यस योजनामा निर्माण कम्पनीले रु १४ करोड ९७ लाख भुक्तानी लगिसकेको छ । यस वर्षका लागि मात्रै रु पाँच करोड बजेट आएको र निर्माण कम्पनीले काम गरे थप बजेटको समेत सुनिश्चिता गर्ने मन्त्रालयबाट प्रतिबद्धता आएको कार्यालयले जनाएको छ । 

    दरबाङ–धारापानी ग्राभेल हुँदै, धारापानी–मुना सडक अनिश्चित

    मालिका गाउँपालिकाबाट धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकखण्डअन्तर्गत धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजनाले तीव्रता पाएको छ । दरबाङ–दाङखोला–धारापानीसम्मको सात किलोमिटर सडकलाई ग्राभेलका लागि योजना सञ्चालन भएको छ । विस २०७६ चैत ४ मा रु १४ करोड ३८ लाखमा ठेक्का सम्झौता गरेको कुँबर–ब्राइट जेभीले सडक पराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने कामलाई तीव्रता दिएको छ । 

    दरबाङबाट दाङखोलासम्मको कामलाई तीव्रता दिइएको र ग्राभेलका लागि सबवेससमेत सडकमा पु¥याइसकिएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद हुमागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बादिकाको भिरमा सडकलाई फराकिलो बनाउने, ग्याविन पर्खाल लगाउने कामसमेत सुरु भएको छ । दरबाङबाट धारापानीसम्मको सडकलाई छदेखि सात मिटर फराकिलो बनाउने र ग्राभेल गर्ने गरी सञ्चालन भएको योजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    अघिल्लो वर्ष बादिकाको उकालो भिरमा सडकको नयाँ ट्रयाक नै खनेर ग्रेड मिलाइएको छ । गत असारसम्म रु आठ करोड ९१ लाख खर्च भएको यस योजनामा यस वर्ष रु चार करोड बजेट आएको र निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेमा थप बजेटसमेत माग गरिने कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट धवलागिरि गाउँपालिका–७ धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजना सञ्चालन भए पनि त्यहाँदेखि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकलाई भने कुनै पनि निकायबाट बजेट विनियोजन भएको छैन । 

    धारापानीबाट मुना नजिकैसम्मको करिब १० किलोमिटर सडकलाई गत वर्ष भौतिक पूर्वाधार सहरी विकास मन्त्रालयले सर्भे गरी डिपिआर तयार गरेको भए पनि अहिलेसम्म स्तरोन्नतिसहित कालोपत्रका लागि बजेट विनियोजन भएको छैन । गाउँपालिकाको केन्द्रसम्मको जीर्ण सडकलाई स्तरीय बनाउनका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । 

    “दरबाङबाट धारापानीसम्म ग्राभेल गर्ने सडकलाई पनि कालोपत्र योजना माग गरेका छौँ, धारापानीबाट मुनासम्मको सडकलाई कालोपत्रसहितकै योजना सञ्चालन गर्न फाइल बोकेर प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएका छौँ”, उपाध्यक्ष पुनले भन्नुभयो ।

    मध्यपहाडीको वैकल्पिक सडक अधुरै 

    धवलागिरिको केन्द्र म्ुनाबाठ खोरिया हुँदै जलजला–ढोरपाटन–रुकुम जोड्ने सडक अधुरो रहेको छ । यो सडक निर्माण भएमा बागलुङ हुँदै निर्माण गरिएको मध्यपहाडी लोकमार्गभन्दा ६० किलोमिटर छोटो हुनेछ । मध्यपहाडीको वैकल्पिक सडकका रूपमा बेनी–दरबाङ–ताकम–मुना हुँदै ढोरपाटन र रुकुम जोड्ने गरी सडक निर्माण गर्न गाउँपालिकाका जनप्रतिनिधि र जिल्लाका सांसदले समेत माग गर्दै आएका छन् ।

    धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका र प्रदेश सरकारमार्फत पूर्वाधारतर्फ सडक विस्तारको योजनालाई प्राथमिकतामा राखेको छ । वडा नं २ लुलाङ पुगेको सडकलाई गुर्जासम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष रु एक करोड २० लाखको योजना सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकाबाट रु ४५ लाख र प्रदेश सरकारमार्फत रु ८० लाख बजेट विनियोजन भएको र निर्माणकार्य सुरु गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

    त्यसैगरी वडा नं ४ मुदीको खिबाङमा सडक सञ्जाल पु¥याउन प्रदेश सरकारमार्फत रु ५० लाखको योजना आएको छ भने मल्कबाङबाट मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले रु २५ लाख विनियोजन गरेको छ । गाउँपालिकामार्फत सञ्चालित हुने योजना सर्भे र सम्झौताको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…