•  
    महोत्तरी, २६ पुस

    बर्दिवास र गौशाला नगर क्षेत्रमा सञ्चालित क्रसर उद्योगको वैधानिकतामाथि प्रश्न उठिरहेको वेला अदालतमा मुद्दा  परेको छ । जिल्ला समन्वय समितिको कार्यविधिविरुद्ध बर्दिवास र गौशाला नगरपालिकाले जनकपुर उच्चअदालतमा मुद्दा  दर्ता गरेका हुन् ।

    अनुगमनका क्रममा जिल्ला समन्वय समिति महोत्तरीले प्रतिवेदनमा उक्त नगर क्षेत्रमा सन्चालित क्रसर उद्योगहरू अवैध रहेको निष्कर्ष निकालेको थियो । तर नगर प्रमुखहरूले जिल्ला समन्वय समितिको अनुगमन विधि र विधानविपरित भएको भन्दै सन्चालनरत क्रसर उद्योगहरूको अवैधानिकताको प्रश्नमाथि आपत्ति जनाएका छन् ।

    समितिले बनाएको कार्यविधिविरुद्ध  पनि नगरप्रमुखद्वय प्रल्हादकुमार क्षेत्री र दिपेन्द्र महतोले प्रश्न उठाएका छन् । यिनै असन्तुष्टिकाबीच उनीहरूले दिएको रिटमाथि आजै सुनुवाइ हुनेछ । रिटमा जिल्ला समन्वय समितिले क्षेत्राधिकारभन्दा बाहिर गएर स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप समेत  लगाइएको छ ।

    रिटमाथि अदालतलाई चित्त बुझेमा अल्पकालिन अन्तरिम आदेश जारी हुने अवस्था छ । `केही विषयमा समन्वय समितिको त्रुटि भएको हुनाले अदालतले नगरपालिकाका पक्षमा फैसला गर्ने अवस्था छ,´ अधिवक्ता टिकाध्वज खड्काले भने ।

    भंगाहा, गौशाला र बर्दिबास नगर क्षेत्रमा सन्चालनरत क्रसर उद्योगहरूको  लगातार वैधतामाथि प्रश्न उठेता पनि नगरप्रमुखहरूको बेवास्ताले विभिन्न आसङ्काहरू उत्पन्न भएका छन् । क्रसरको विषयमा नै यसअघि अघिल्लो स्थानीय सरकारले दायर गरेको रिटमाथि समेत आज नै सुनुवाइ हुनसक्ने बर्दिवास नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता खड्काले जानकारी दिए  ।

    के भएको थियो ?

    वातावरणीय प्रभाव मुल्यांकनअनुसार ०७८ मा रातु नदीको विभिन्न चार खण्डबाट एक लाख २१ हजार पाँच सय घनमिटर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता भएको थियो ।

    प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रा.लि. र दिव्यांशु प्रा.लि. जनकपुरले करिब चार गुना बढी उत्खनन् गरेको निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकाले क्षतिपूर्तिको माग गर्दै उत्प्रेषण मिश्रित परमादेश रिट दायर गरेको थियो ।

    जुन अझैसम्म पनि विचाराधीन अवस्थामा छ । किसाननगर खण्ड, जुरेटोल खण्ड, पतलैया खण्ड र फुलबारी खण्डबाट उत्खनन् गर्ने अनुमति पाएका तीन तीन कम्पनीले मापदण्ड र सम्झौताविपरित उत्खनन् गरेपछि जनस्तरबाट चर्को दबाब आएको थियो ।

    ढुंगा, गिटी, वालुवा बिक्रीवितरण तथा व्यवस्थापनसबन्धी ऐन ०७७ लाई समेत धज्जी उडाउदै उत्खनन् भएपछि  २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेर प्रावधिक नापजाँच उपसमितिको रिर्पोटअनुसार १ साउन ०७८ मा कारवाही प्रक्रिया सुरु भएको थियो ।

    उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएका उद्योग पन्चधुरामाई सप्लायर्सले किसानगर खण्डबाट सम्झौता भएभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार नौ सय ६५ घनमिटर बढी उत्खनन् गरेको उल्लेख छ । पन्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाखभन्दा बढी राजश्व दिन बाँकी छ भने जुरेटोल खण्डको दुई करोड ६१ लाख राजश्व नगरलाई दिन बाँकी छ ।

    यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रालिले सम्झौतामा उल्लेख गरेभन्दा फुलबारी खण्डबाट एक लाख ७२ हजार तीन सय ६० घनमिटर र दिव्यांशु विल्डर्स प्रालिले सम्झौता गरेभन्दा पतलैया खण्डबाट दुई लाख ९९ हजार आठ सय ४५ घनमिटर उत्खनन् गरेको प्रतिवेदन छ ।

    शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख दिन बाँकीे देखिएको छ । उक्त घनमिटरमा रेट भने हरेक खण्डवाट ४।५२ रुपैयाँ निर्धारण गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…