•  दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएको हो ।

    कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गर्नुभएको छ । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गर्नुभएका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा रु डेढ लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । रु सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो ।  
    म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गर्नुभएको छ । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ । लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताउनुभयो । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भन्नुभयो ।

    कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आउनुभएको छ । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आउनुभएको छ ।

    असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट
     
    शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पु¥याएको छ । 

    अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् ।

    हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताउनुभयो । शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ । 

    खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले बताउनुभयो । 

    त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु¥याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उहाँले बताउनुभयो ।  जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…