• आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हँुदै गएका छन् । 

    सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् । बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गर्नुभएको हो । 

    घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उहाँहरुसँग छ । काठ र बाँसबाट सामान बनाउन उहाँहरुले जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोल्नुभएको छ । एक पटक देखेको र चित्र हेरेको आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु उहाँहरुको विशेषता हो । 

    “सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्दथे”, शाहीले भन्नुभयो, “काठका सामान बनाउने रुचि भएका तीन जना मिलेर माग लिने र सामान बनाएर बेच्ने गरेका छौँ ।” प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनःनिर्माण गरिएको छ । वैदेशिक रोजगारीका लागि ३६ वर्षीय शाही २७ महिना मलेसियामा बिताएर विसं २०७४ मा स्वदेश फर्कनुभएको थियो । मलेसियामा सोचेजस्तो नभएपछि शाहीले घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय सुरु गर्नुभयो । शाहीले सात वर्ष मेलिसियाको फर्निचर उद्योगमा काम गरेर फर्किएका ३८ वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिनुभयो । 

    सुरुमा बाँसका सिन्का बनाउन चीनबाट रु नौ लाख खर्चेर मेसिन ल्याउनुभएका शाहीले उद्योगमा रु १५ लाखभन्दा बढीको लगानी गरेको बताउनुभयो । रु पाँच सयदेखि रु दुई लाख ५० हजार मूल्यसम्मका सामग्री बनाएको उहाँको भनाइ छ । बाँसका सिन्कालाई डिजाइन र स्वरुपअनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको हो । भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि मागबमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ । शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलका दुरुस्त आकृति तयार पार्नुभएको छ । “एक पटक देखेका जुनसुकै वस्तुको पनि आकृति तयार पार्न सक्छु”, शाहीले भन्नुभयो, “कतिपय सामग्री आफ्नै सिर्जनामा पनि बनाएको छु ।”

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…