•  अर्घाखाँची, २८ चैत  
     मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ । 

        मन्दिरको आम्दानीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय र शीतगङ्गा नगरपालिका–२, सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले तलब पाइरहेका छन् ।

        मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार आदर्श माविका लागि मासिक करिब रु ६५ हजार र शान्ति निमाविमा मासिक रु ५५ हजार रकम उपलब्ध गराइएको र अन्य विद्यालयमा समेत आवश्यकताअनुसार रकम उपलब्ध गराउने गरिएको छ । भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहत लगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । 

        मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटी नै मन्दिरको नियमित आम्दानी हो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

        भेटीको करिब ७५ प्रतिशत चन्दा विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च हुन्छ । उपहारबाट गरिब विद्यार्थीलाई आर्थिक सहयोग, छात्रवृत्ति र सहयोग उपलब्ध गराइएको छ । भक्तजनले चढाएको भेटीबाट मन्दिरको मासिक आम्दानी करिब रु २० लाखसम्म हुने गरेको उहाँले बताउनुभयो ।

        अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो । 

        शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । सुपादेउरालीमा छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठानलगायत देशभर तथा भारतबाट समेत तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा खासगरी फागुन, चैत, वैशाख जेठ, असोज, कात्तिक र मङ्सिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

        सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा नरपानी र फलमेको दुई अग्लो महाभारतको बीचमा रहेको यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ । विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खाँेचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ । 

        वडा नं ७ का वडाध्यक्ष चुराबहादुर केसीले वडा तथा नगरपालिकामार्फत यस क्षेत्रको पर्यटकीय प्रवरद्धनका लागि गुरुयोजना निर्माण गरेर काम अघि बढाइएको बताउनुभयो । मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरुप एकैखालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकास लगायतका विषय गुरुयोजनामा राखिएको छ । उहाँका अनुसार सुपादेउराली मन्दिर आउने पर्यटकलाई जिल्लाका अन्य धार्मिक शक्तिपीठको भ्रमणका लागि लैजाने गरी समन्वयको काम पनि भइरहेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…