•  आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । 

    आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैँचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निरास भएका हुन् । नयाँ वर्ष लागेयता बगैँचा पुग्दा वीरक्त लाग्ने गरेको किसानको गुनासो छ ।

    “यतिखेर हाँगैपिच्छे आँपका टिकोला (चिचिला) का झुप्पा देखिन्थे, तर यसपालि मज्जर डढेको कालो खरानी पो छ”, महोत्तरीको भङ्गाहा–४ का बगैँचा खेतीका किसान हरिदेव साहले भन्नुभयो, “यो त होला भनेर आश ग¥यो, त्यो आश पनि मरेपछि के हेरेर चित्त बुझाउनु ?” बगैँचाका आँपका बोटमा अहिले मधुवाले डढाएर कालो ढुसी परेका पात देखिने गरेको साह बताउनुहुन्छ । “मज्जर त डढेर कालो खरानी भइहाल्यो, पातचैँ रुखमै कालो ढुसी परेको देखिँदैछ”ं, उहाँले भन्नुभयो, “यी रोगव्याध र अभावचैँ हामी किसानकै रहेछन् ।”  

    साहजस्तै उहाँकै बस्तीका अरुण गिरी, गङ्गाराम महतो, सत्यनारायण यादव र वीरेन्द्र महतो पनि आँपको मज्जर मधुवाले भुसुक्कै डढाएपछि पिरोलिनु भएको छ । “आँप फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनिएको थियो” फलफूल किसान वीरेन्द्र महतो भन्नुभयो, “राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरमै डढ्यो ।” मज्जरलाई जेलेर मधुवाले डढाएपछि त्यसमा टिकोला नलाग्ने किसान बताउँछन् । समस्या बढेपछि मज्जरमात्र नभएर पातै पनि डढाएर मधुवाले कालो बनाउँछ ।

    मधुवाको समस्याले व्यावसायिक रुपमै फलफूल खेती गर्ने यहाँका किसान निरास भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा मधुवा रोगको समस्याले यसपालि चिन्ता बढाएको हो । “खै केही वर्ष पहिले त फलफूल खेती हेर्ने जेटी बाबु (कृषि सहायक) आएर यस्तो गर्नोस भनेर परामर्श दिन्थे” बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भन्नुभयो,  “अचेल त केही वर्षयता कोही सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।” समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरु पछि परेका फलफूल किसानको गुनासो छ । खासमा पहिलेका जिल्ला कृषि विकास कार्यालयको बागवानी शाखा र  जिल्लाका अन्य भेगका कृषि सेवा केन्द र उपकेन्द्रबाट पाइने सल्लाह, सुझाव अब ती कार्यालय नै नरहेपछि पाउन छाडिएको किसानको भनाइ छ ।

    नयाँ संविधान लागू भएयता जिल्ला कृषि विकास कार्यालय छैन । त्यसअघिका इलाका र गाविस केन्द्रमा रहेका कृषि सेवा केन्द्र र उपकेन्द्र सम्बन्धित स्थानीयतहमा गाभिएका छन् । कानुनले पहिलेका यी निकाय स्थानीयतहमा गाभिए पनि जिल्लाका कुनै स्थानीयतहले आआफ्ना कार्यालयमा कृषि शाखा व्यवस्थित नगर्दा आम किसानले खेतीपातीसम्बन्धी राय सल्लाह लिन नपाइएको गुनासो गरेका छन् ।

    “सम्बन्धित स्थानीयतहले आफ्नो कार्यालयमा दक्ष कृषि प्राविधिकसहितको कृषि शाखा व्यवस्थित गर्नपर्ने हो, तर खै यी काममा नगर नेतृत्वको चासो देखिन्न”, भङ्गाहा–९ हरिहरपुरका किसान सुनिल यादवले भन्नुभयो, “कृषि कुनै स्थानीयतहको प्राथमिकतामा देखिँदैन”, उहाँको भनाइमा सही थाप्दै कृषि क्षेत्रको सरकारी सेवाबाट अवकाश लिनुभएका भङ्गाहा–६ सग्रामपुरका बासिन्दा बागवानीविज्ञ राजकिशोर यादवले जिल्लाका १५ स्थानीयतहमध्ये कुनैले व्यवस्थित कृषि शाखा सञ्चालन गरेका नदेखिएको बताउनुभयो ।    
     
    जिल्लामा बर्दिबास, गौशाला, भङ्गाहा , मनराशिश्वा, मटिहानी र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै आँप बगैँचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि केही लागेका  टिकोला पनि चाउरिएर नबढेका किसान बताउँछन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…