•  काठमाडौँ, १४ वैशाख 
      प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेक्नुभएको छ । 

        चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ । 

        चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ । विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ । चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ । बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो । 

        सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन् । किनकी दोष उनले मात्र खेप्नुपरेको छ । त्यहीँ सिलसिलामा आफ्नो श्रीमान्लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ । हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन् । नाम्साङले हाङ््मालाई फर्काउन छरितोपन देखाउँदैनन् । त्यही क्रममा पालममा जितेर अर्कैले हाङ््मालाई पत्नी बनाउँछ ।

        हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन् । पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ । बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन् । उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन् । त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन् । केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन् । तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन । पालम गाउँन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन् । त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन् । उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन् । 

        जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन । एकदिन नाम्साङको आमाको देहान्त हुन्छ । एक वर्षलाई शुभकार्य रोकिन्छ । त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा । के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ । यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन् ।

        निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन् । व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन । अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’ । कथामा मौलिकता छ । चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ ।  त्यसलाई अगाडि बढाउन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ । नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन । हाङ््मा पनि उस्तै छिन् । निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन् ।  

        पहिलो दृश्यपछि दुवै बोल्दैनन् । तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन् । उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन । तर व्यक्त पनि हुँदैन । उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरलरूपमै निर्देशकले मेटाएका छन् । यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो । यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् ।

सम्वन्धित समाचार

 अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ …

 स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्…

काठमाडौँ,   बैशाख ३१ -चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा…

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्क…