•  ढोरपाटन, २३ वैशाख  

    निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउनुहुन्छ ।

    आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उहाँको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उहाँले लामो समय बालीघरेरूपमा कामसमेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि हिरामानसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ । 

    परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायी बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने थियो । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउनुहुन्छ ।

    पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उहाँको भनाइ छ । उहाँले आफूले दुई दशक बढी बालीघरेका रूपमा कामसमेत गरेको सुनाउनुभयो । बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नुपरेको हिरामानले बताउनुभयो । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उहाँको भनाइ छ ।

    हिरामान भन्नुहुन्छ, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ ।”

    बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको छ । अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न छाडेँ ।”

    उहाँका छोरा देवीरामले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसायतिर ध्यान नगएको बताउनुभयो । आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा आफूले यो पेसा नअँगालेको उहाँको भनाइ छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने देवीराम बताउनुहुन्छ । आफ्ना पुस्ताका युवाले यो काम गर्नतर्फ ध्यान नदिएको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

 काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत ज…

लुम्बिनी (मर्चवार), ११ फागुन : बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल ब…

 सिन्धुली, ५ फागुन : कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि…

 भोजपुर, ५ फागुन : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेक…