•  काठमाडौँ, १२ जेठ : विपद्ले विनाशमात्र गर्दैन, विकासका लागि नयाँ ढोका पनि खोल्छ । विश्वका विभिन्न भागमा अहिलेसम्म भएका अनेकौँ प्राकृतिक विपद्को इतिहास हेर्ने हो भने यो तथ्य प्रमाणित भएको पाइन्छ । चाहे नेपालको विसं १९९० को महाभूकम्प होस् वा सन् १९९५ मा जापानको कोबे भूकम्प वा सन् २००१ मा भारत गुजरातको भुजको विनाशकारी भूकम्प होस्, त्यो विपद्पछिको पुनःनिर्माणले ती स्थानको काँचुली नै फेरिदिएको सर्वविदितै छ । विसं २०७२ वैशाख १२ गते    नेपालमा आएको ठूलो भूकम्पले पनि विनाश र वियोगका साथसाथै नवनिर्माणको अवसर पनि जुटाइदिएको सबैले अनुभूति गरेका छन् । 

    सामान्यतया विपद्का तीन चरण हुन्छन्–विपद्पूर्व (प्रि–डिजास्टर), विपद् भइरहेको अवस्था (ड्युरिङ् डिजास्टर) र विपद्पश्चात् (पोस्ट–डिजास्टर) । विपद्पूर्वको चरण मूलतःपूर्वतयारीको चरण हो । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्नु गराउनु नै यो चरणको मुख्य लक्ष्य हो । हाम्रो देश विपद् पूर्वतयारीका लागि त्यति सबल नरहेको विसं २०७२ को भूकम्पमा प्रत्यक्ष अनुभव भयो । यो चरणमा बुद्धि र विवेक नपु¥याउँदा कति हृदयविदारक क्षति भोग्नुपर्छ भन्ने दृष्य चार महिनाअघिमात्र टर्कीको भूकम्पमा देखियो । विसं २०७२ को गोरखा भूकम्पमा झण्डै नौ हजार व्यक्तिले जीवन गुमाए भने २२ हजारभन्दा बढी घाइते भए । पूर्वतयारी सबल भइदिएको भए त्यो सङ्ख्या निकै घटाउन सकिन्थ्यो । 

    दोस्रो चरण अर्थात् विपद् भइरहेको अवस्थाको दृष्टिले २०७२ को भूकम्पलाई लेखजोखा गर्दा केही मिश्रित स्थिति पाइन्छ । विशेषगरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले त्यस अवस्थामा निर्वाह गरेका आफ्ना पेशागत कर्तव्यको जति प्रशंसा गरे पनि कमै हुन्छ । वैशाख १२ को मुख्य भूकम्प र त्यसपछिका साना ठूला परकम्पहरुको लगातार सन्त्राशका बीच भूकम्प प्रभावित स्थानहरुमा कार्यरत यी तीन पेशाकर्मीले गरेका कामको देश, विदेशमा चर्चा बटुलेको थियो । यो चरण वास्तवमा उद्धार र राहतमा केन्द्रित भएर काम गरिने चरण हो । त्यसका लागि सम्बन्धित निकाय र जिम्मेवार पदाधिकारीबीच चुस्त र प्रभावकारी समन्वय, समझदारी र सहकार्य अनिवार्य हुन्छ । तर हामी कहाँ त्यसमा कमीकमजोरी देखियो । फलस्वरुप कहीँ राहत सामग्रीको थुप्रो लागेको, कहीँ भने केही पनि नपुगेको गुनासो धेरै आयो । विदेशबाट आएका उद्धार टोलीहरुले आफ्नो साथमा ल्याएका  अत्याधुनिक उपकरणहरुको प्रयोग गरे तर नेपालको उद्धार टोली भने त्यस्ता उपकरणको व्यवस्था नहुँदा साभेल, पिककै भरमा उद्धार कार्यमा जुटिरहेको बाध्यात्मक दृष्य पनि देखियो । 

    विपद्को तेस्रो चरण अर्थात् विपद्पश्चात्को चरण मुख्यतया पुनःस्थापना र पुनर्निर्माणका कार्यमा केन्द्रित रहन्छ । गोरखा भूकम्पपछि भूकम्पपीडितको पुनःस्थापना र पुनःनिर्माणका लागि धेरै महत्वपूर्ण काम भए । पुनर्निर्माणसम्बन्धी ऐन ल्याउन र पुनःनिर्माण प्राधिकरण गठन गर्नमा केही विलम्ब भए पनि यसले काम सुरु गरेपछि लगातार छ वर्षमा धेरै महत्वपूर्ण कार्यसम्पन्न गरेको पाइन्छ । यद्यपि प्राधिकरणले आफ्नो अवधि पूरा गरिसकेपछि पनि अधुरा कार्य नेपाल सरकारको सम्बन्धित निकायमार्फत अझै जारी नै छ । 

    पुनःनिर्माणका मुख्य तीन क्षेत्र थिए–व्यक्तिगत आवास, सम्पदास्थल र सरकारी संरचना । भूकम्पको चपेटामा परी छ लाखभन्दा बढी घर पूर्णक्षतिग्रस्त भएका थिए भने करिब दुई लाख ८५ हजार घर आंशिक क्षति भएका थिए । पूर्णक्षतिग्रस्त घरलाई तोकिएको मापदण्डअनुसार पुनःनिर्माण गराउन सरकारले घरधनीलाई रु तीन लाख अनुदान दिएको थियो भने आंशिक क्षति भएकालाई रु एक लाख । यो अनुदानले पुनःनिर्माणको अभियान चलाउन धेरै ठूलो काम ग¥यो । 

    केही नीतिगत अन्योल रहे पनि निजी आवास पुनःनिर्माणमा नेपालको प्रयास धेरै हदमा सफल रहेको भनी स्वदेश र विदेशमासमेत सराहना भएको पाइन्छ । यसको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको पुनःनिर्मित सबै घर भूकम्प सुरक्षा प्रविधि अपनाएर निर्माण गरिनु हो । गाउँ होस् वा सहर पुनःनिर्मित घर पहिलाको दाँजोमा धेरै वैज्ञानिक र भूकम्पीय दृष्टिकोणले सुरक्षित बनेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…