•  महेन्द्रनगर, २१ वैशाख : विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ । 

    त्यस्तै, डडेल्धुराको शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने विषय पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा सम्झौता नै भएपछि यसबाट सुदूरपश्चिमका बासिन्दालाई आशातित बनाएको छ । 

    विकासका दृष्टिले सम्भावना बोकेर पनि पछि परेको सुदूरपश्चिम प्रदेशको कायापलट हुन सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषय पर्याप्त हुनेछन् । घोषणा भएका विकास निर्माणका योजना कार्यान्वयनले महत्व पाउने विषयमा यहाँ शसङ्कित हुने अवस्था भने छ । महाकालीसन्धि अनुसार महकाली नदीबाट भारतले सिँचाइका लागि उपलब्ध गराउनुपर्ने पानी सन्धिको साढे दुई दशक वितिसक्दा पनि पाउन सकेको छैन् । 

    महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा पानी ल्याउन कार्यालयले माथिल्लो निकायमार्फत पहल गरेपनि सफल हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियिर डिभिजनल इन्जिनियर शम्भु पण्डितले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा यस विषय भारतीय पक्ष समक्ष पुगेपछि यहाँ एनएचपिसीको टोली आएर समन्वय गरेको थियो ।

    इन्जिनियर पण्डितले भन्नुभयो, “अहिले यस विषयमा अन्यौलता छ । आगामी असारमा पानी दिने विषयमा भारतीय पक्षसँग छलफल अघि बढाएर भारतीय पक्षले पनि सिँचाइको मूल नहर अवलोकन गरेको छ ।” उहाँले गत असारको तेस्रो साता एक दिनका लागि पानी छोडिए पनि नियमित पानी आउन नसकेको बताउनुभयो ।

    “लामो समय आफ्नै लगानीमा निर्माणको प्रयास भएको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया केही समययता अघि बढेको थियो । त्यही बीच भारतीय पक्षले नै बनाउने विषयले चर्चा पायो । प्रधानमन्त्री दाहालको भारत भ्रमणका सुक्खा बन्दरगाह सुदूरपश्चिमका लागि सबैभन्दा महत्वको विषय बनेको थियो”, इन्जिनियर पण्डितले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह स्थलको निरीक्षण समेत गर्नुभएको थियो । उहाँको भ्रमणका क्रममा भारतले उक्त बन्दरगाह बनाइदिने विषयमा सम्झौता भएपछि स्थानीय हर्षित छन् । मन्त्रिपरिषद्बाट सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्क (ईआईए) स्वीकृत भइसकेको छ भने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतमै बनिरहेको छ । 

    सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य अहिले पनि भारत हो । सदियौँदेखि यहाँबाट रोजगारीका लागि भारत जाने आउने क्रम चलेपनि सात पहाडी जिल्लाका नागरिकले भारत जान कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका बढी प्रयोग गर्छन् । नेपालसँग कनेक्टिभिटी बढाउन भारतीय प्रधानमन्त्री मोदीले शीर्ष र झुलाघाटमा पुल बनाउने घोषणा गरेपछि बैतडी, डडेल्धुरालगायत जिल्लाका नागरिक यातायातमा थप सहजता हुनेमा आशावादी देखिएका छन् ।
     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…