•  गण्डकी, २ साउन  
     गत वर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो । 

        रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेको थियो । उक्त वर्ष किसानले सात हजार छ सय पाँच हेक्टरमा चैते धान रोपेका प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । 

        चैते धानको उत्पादन घटेको पाइए पनि गत वर्ष आठ दशमलव ४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव ६७ मेट्रिक टन उत्पादन भएको थियो । 

        उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चदैँ जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवद्र्धन थालेका छन् । चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।

        “यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं”, उहाँले भन्नुभयो, “किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामाग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।”

        प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउनका लागि किसानलाई (सोलार ड्रायर) को खाँचो रहेको बताउनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । “मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्”, प्रमुख रेग्मीले भन्नुभयो ।

        उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चँदो छ । 

        पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धान खेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताउनुभयो । उहाँका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ । 

        यस वर्ष वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ र वडा नं २७ का एक सय दुईजना किसानलाई प्रतिरोपनी रू नौ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । वडा नं १४ र १५ मा दुई सय ५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उहाँको भनाइ थियो ।

        “चैते धान खेती विस्तारका लागि प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्”, उहाँले भन्नुभयो, “नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।”

        वर्षेको तुलनामा चेतै धान पाक्न १५÷२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ । “बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्”, उहाँले भन्नुभयो । 

        चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताउनुभयो । कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…