•  चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो । 

    यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिनुभयो । 

    “गढीको पुरानोस्वरुप बिग्रँदैन”, उहाँले भन्नुभयो, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” उहाँले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताउनुभयो । उहाँले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताउनुभयो । चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । 

    गाउँपालिकाले यस वर्ष उक्त गढीेलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ । “उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं ।” पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ । शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन् । 

    स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँले दैनिक सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिनुभयो । यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन् । उहाँका अनुसार गढीमा मासिक रु एक लाखको टिकट बिक्री भएको छ । गढीमा घुम्न आउनेबाट पालिकाले रु ५० शुल्क लिने गरेको छ । 

    इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताउनुभयो । चितवनका डाँडाकाँडामा पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…