•  कञ्चनपुर, ३१ साउनः कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ ।  खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ । 

        “बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उहाँ सुनाउनुहुन्छ । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर छक्क पर्ने गरेको उहाँ बताउनुहुन्छ । 

        खोलाले जग्गा बगाउन सुरु गरे सबै जना मिलेर जैविक तटबन्ध निर्माण गर्नमा जुट्ने गरेको उहाँको भनाइ छ । बन्ड खोलामा नगरपालिका, मर्सिकोर र  निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रमअन्र्तगत एक सय ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणले ५१ परिवारको जग्गा कटानी (भू–क्षय) रोकिएको छ । 

        तटबन्ध निर्माण गरिएको क्षेत्रमा स्थानीय बासिन्दाले घाँस र बाँसका बिरुवा रोपेका छन् । त्यसले गर्दा जग्गाको माटो बग्न पाउने गरेको छैन । खोलामा बाढीको पानी खतरा तह पार गरेपछि नेपालीले गाउँका बासिन्दालाई साइरन बजाएर सचेत पार्ने कार्य पनि गर्दै आएका छन् । “तटबन्ध निर्माण नहुँदा जग्गा कटानी हुने क्रम तीव्र थियो”, स्थानीय राजमती चौधरीले भन्नुभयो, “बढी वर्षा भए घर छाडेर सुरक्षित स्थानमा जाने गरेका थियौँ, अहिले वर्षा जति भए पनि घरमै बस्ने गरेका छौँ ।” 

        खल्लागोठका प्रताप धानुकले मछेली नदीमा बाढी आएको जानकारी सहजरूपमा पाउने गर्नुभएको छ । गाउँमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदल गठन भएका छन् । कार्यदलमा सहभागी सदस्यलाई आवश्यक तालिम र सामग्रीको व्यवस्था गरिएको छ । चुरे क्षेत्रमा अधिक वर्षा हुँदा नदीको सतह बढ्न थालेको जानकारी पूर्वसूचना कार्यदलले उपलब्ध गराउने गरेको छ । नदीको बाढीको पानी बस्तीमा पस्न नपाउँदै गाउँका बासिन्दा सुरक्षित स्थानमा गएर बस्ने गरेको धानुक बताउनुहुन्छ । 

        “कार्यदल गठन नहँुदा नदीको बाढीको पानी घरभित्र पस्न सुरु गरेपछि मात्रै जानकारी पाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “भू–क्षय हुने ठाउँमा जैविक र तारजालीको तटबन्ध निर्माण गरिएको छ, जसले जग्गा कटानी हुने क्रम रोकिएको छ, बाढी आउनुअगावै जानकारी पाइने भएकाले कुनै चिन्ता छैन ।” नदीजन्य पदार्थको जथाभावीरूपमा हुने उत्खनन रोक्न सके बाढीजन्य प्रकोपबाट सहजरूपमा जोगिन सकिने स्थानीय जीतबहादुर महरा बताउनुहुन्छ ।
     
        “बाढीजन्य विपद्बारे जानकारी नपाउँदा पहिला निकै कष्ट सह्यौँ”, स्थानीय किष्ना साउदले भन्नुभयो, “अहिले विपद्को सामना गर्न गठन गरिएको कार्यदलमा आबद्ध भएपछि गाउँका बासिन्दालाई सुरक्षित गर्न सकेका छौँ ।” गाउँका बासिन्दालाई बाढीजन्य विपद् आएका बेला आकस्मिक समस्या आए विपद् कोषबाट रकम झिकेर सहयोग गरिँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार विपद् कोषमा रु ५० हजार रकम जम्मा गरिएको छ । 

        पुरानो बस्ती खल्लागोठमा मछेली नदीको पानी पस्न नदिन र जग्गा कटान रोक्न नगरपालिकाबाट रु पाँच लाख र निड्सको रु पाँच लाखको साझेदारीमा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित पारिएको वडाध्यक्ष अर्जुनबहादुर साउद बताउनुहुन्छ । 

        “अठन्नीफाँटा, नयाँ बस्तीलगायतका क्षेत्रमा साझेदारीमा भू–क्षय रोक्नका लागि तटबन्ध निर्माणकार्य अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “केही ठाउँमा प्रदेशबाट तटबन्धका योजना ल्याई कार्यान्वयन गरेका छौँ ।” नदी, खोलाको पानी खतरा तह पार गरेको सूचना पाएपछि अग्रस्थानमा रहेर स्थानीय समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

        निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढीजन्य विपद्को सामना गर्नका लागि कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा विपद् प्रतिकार्यका योजना निर्माण गरेसँगै समुदायस्तरमा कार्यदल गठन गर्ने, तालिम दिने, समुदायलाई विपद्बारे सचेत पार्ने, विपद् कोष स्थापना गर्ने र आयआर्जनका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो । 

        निड्सका कार्यक्रम संयोजक नवीन भण्डारीका अनुसार सन् २०२२ देखि कृष्णपुरका खल्लागोठ, नयाँ बस्ती र अठन्निफाँटामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट एक सय ७३ घरधुरी लाभान्वित भएका छन् । यसैगरी दोधारा चाँदनीका वडा नं ३ को पट्टरखल्ला, ७ को कञ्जभोज र १० को कुतियावरमा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमबाट तीनवटै वडाका एक सय ३५ परिवार लाभान्वित भएका छन् ।
     
        कार्यक्रम सञ्चालन भएका समुदायमा सन् २०२२ मा विपद् कोषका लागि प्रतिसमुदाय रु २० हजार रकम प्रदान गरिएको छ । चार समुदायलाई खोज तथा उद्धार सामग्री वितरण र कुतियाकवरमा डुङ्गा निर्माण गरी हस्तान्तरण गरिएको छ । दुवै नगरपालिकालाई सिडिएमसी गठन तथा परिचालन कार्यविधिको मस्यौदा तयार गरी सहयोग गरिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…