•  भरतपुर, १ भदौ : पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ । 

        गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

        इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उहाँ आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्नुहुन्छ । तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।” उहाँले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाउनुभएको छ । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उहाँ खुसी हुनुहुन्छ । 

        गोलभेँडा बेच्न फिस्लिङ झर्नुभएका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताउनुभयो । उहाँसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारीखेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । “मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ”, उहाँले भन्नुभयो, “समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।” उहाँले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउनुहुन्छ । 

        फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् ।  किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् । व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउनुहुन्छ । केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “मैले आफैँ सुन्तलाखेती गरेको छु”, उहाँले भन्नुभयो, “यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।” उहाँले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताउनुभयो । विगतको सम्झना गर्दै उहाँले भन्नुभयो, “सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।”

        यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो”, उहाँले भन्नुभयो, “गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।” उहाँले दुई रोपनीमा तरकारी खेती गर्दै आउनुभएको छ । विगतमा उहाँले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्नुहुन्थ्यो । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उहाँले छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…