•  नारायणगढ (चितवन), १८ भदौ : चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।

        चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।

        राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताउनुभयो । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उहाँको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उहाँले बताउनुभयो ।

        हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताउनुभयो । 

        चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गर्नुभएका यात्रु लोक खड्काले बताउनुभयो । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उहाँको भनाइ थियो । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उहाँले बताउनुभयो । 

        नारायणगढबाट वीरगञ्ज जान लाग्नुभएका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताउनुभयो । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने विश्वास व्यक्त गर्नुभयो ।   

        चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताउनुभयो । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उहाँको भनाइ थियो । उहाँका अनुसार भरतपुरबाट हेटाँैडासम्म पुगेको रू दुई सय ८०, वीरगञ्जसम्मको रू चार सय र नारायणगढ–काठमाडौँको भाडा रू पाँच सय भाडादर रहेको छ ।
     
        सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताउनुभयो । “यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उहाँले भन्नुभयो । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उहाँले बताउनुभयो ।

        नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताउनुभयो । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उहाँले गुनासो गर्नुभयो । डिजेल गाडीकोभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उहाँको भनाइ थियो ।

        नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताउनुभयो । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उहाँको माग थियो ।

        जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रू ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीकोे भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…