•  रामपुर (पाल्पा), १ असोज : घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ । 
           
        परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तिज पर्व नै पर्खेर बस्ने चलन थियो । वर्ष दिनभरका तितामीठा अनुभवलाई गीतमार्फत साथीभाइ, आफन्तजनसँग विरह, वेदना तिजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो । हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ बस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तिज पर्व मनाउने होडबाजी चलेको छ । 
           
        गरगहना, महङ्गो मुल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ । तीज आउनु महिना दिन अगावै गरगहना, महङ्गा मुल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउनुहुन्छ । 
           
        “हाम्रा पालामा मनाइएको तिज र अहिलेको तिजमा धेरै परिवर्तन आयो, तिजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरीका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरु जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो”, उहाँले भन्नुभयो । 

        तिजको मौलिक परम्परा र संस्कृती अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपन हुदै गएको ज्येष्ठ नागरिक बाशिष्ठको अनुभव छ । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुदै गएको उहाँको बुझाइ छ ।
           
        नारीका दुःखसुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तिजका बेलामा व्यक्त गर्ने, मीठा–मीठा परिकार खाने प्रचलनका रुपमा तिजलाई लिने गरिन्छ । पछिल्ला वर्षमा तिज आउन महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तिजको मौलिकता भने हराउँदै गएको छ । 
           
        नागपञ्चमी पर्व सुरु भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे । तिजका गीतमा महिलाले सासु÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाई लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । ती गीतहरु सुनिरहुँ जस्तो लाग्थ्यो । अहिले यस्ता खालका गीतहरु कमै सुन्न पाइन्छ । तिजको रमझम सुरु हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताउनुभयो ।
           
        उहाँ भन्नुहुन्छ, “आमा हजुरआमासँग साँभmमा घरको कामधन्दा सकाएर गाउँमा तिजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टिभीमा इन्टरनेटबाट तिज गीत सुन्ने र हेर्ने चलन आयो” ।
           
        आजभोली गीत सुन्दा तिजका हुन कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् । तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा–मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदिबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुदै गएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरु बताउँछन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…