•  काठमाडौँ, ४ असोज : रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्वकालको एक उद्गमस्थल पनि हो, जहाँ माओवादी पार्टीका नेता कार्यकर्ता मात्रै सात सय ४२ सहिद भए । विसं २०५८ असार २७ गते भएको होलेरी आक्रमणमा सरकार र विद्रोही पक्षका गरी ३९ जना मारिएका थिए ।

    लोकतान्त्रिक आन्दोलनको सफलतापछिका राजनीतिक गतिविधि र निर्वाचनमा माओवादीको प्रभाव नरहने कुरै भएन । यही जिल्लाका जनताबाट निर्वाचित भएका प्रतिनिधि मुलुकको सभामुख, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्री भइसकेका छन् । अरु जिल्लाको जस्तै रोल्पाको विकास पनि क्रमशः हुँदैछ तर जति हुनुपर्ने हो त्यति नभएको देखिन्छ ।

    रोल्पालीका धेरै सपना पूरा हुन बाँकी नै छ, ती सपना माओवादीले मात्रै पूरा गर्न सक्दैन । यहाँको विकासका लागि अरु राजनीतिक दलको भूमिका पनि आवश्यक छ भनेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी ईश्वरी घर्तीमगर अहिले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

    नुवागाउँको अरनिको माविमा पढ्दै गर्दा विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी सांसद घर्तीमगर पछि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष हुनुभयो । केही समय पत्रकारितामा पनि आफूलाई सक्रिय बनाउनुभएकी उहाँ प्रेस चौतारी नेपालको पनि जिल्ला अध्यक्ष हुनुभयो । भूगोल र पार्टीको राजनीतिक भूमिकाबाट पहिलोपटक सिंहदरबारको संसदीय भूमिकामा आउँदा प्रारम्भमा उहाँको समय संसदीय अभ्यास, यसका नियमावली र आचारसंहिता आदिबारे सिकाइमै बित्यो । सरकार निर्माण, राष्ट्रपति–उपराष्ट्रपतिका निर्वाचन आदि घटनाक्रमले पनि विधि निर्माणको संसदीय भूमिकाको भेउ पाउन सांसद घर्तीमगरलाई केही समय लाग्यो ।

    पार्टीको राजनीतिमा जस्तो एकोहोरो जिम्मेवारी पूरा गरेर पनि सांसदले सुख पाउँदैन । सांसद घर्तीमगरलाई अहिले यो कुरा स्पष्ट भइसक्यो कि सांसद भनेको पार्टीप्रति मात्रै उत्तरदायी हुने पद होइन, देश र जनताप्रति समर्पित भएर कानुन बनाउने विधायक हो । हुन त जनताले सानातिना (नागरिकता, राहदानी) देखि ठूला आयोजनासम्ममा सांसदलाई सम्झने गर्दछन् । जनताले आफ्ना कुरा सदनमा पुगोस् भन्ने चाहन्छन् । शून्य समय, आकस्मिक समय र विशेष समयमा समय पाएर हरेक विषयलाई न्याय गरेर बोल्न सांसदलाई पनि सहज छैन ।

    जनताका आँखामा जुन सांसदले बढी बजेट र विकास ल्याउन सक्यो, त्यही ठूलो नेता कहलिन्छन् । ईश्वरीले हालसम्म धेरै पटक सदनमा उठाएको विषय–सहिदमार्गको निर्माण र स्तरोन्ततिबारे सरकारले पर्याप्त ध्यान दिएको छैन । द्वन्द्वकालमा लाइफलाइनका रुपमा लिइने २२० किलोमिटरको यो सडक दाङ–रोल्पा हुँदै पूर्वी रुकुमको हुकाममैकोटसम्म पुग्छ । घोराही–होलेरी सडकको अवस्था पनि बिजोग छ ।

    “दयनीय अवस्थामा रहेको यो सडक बनाउन कनिका छरेजस्तो बजेट हालेर पुग्दैन । सांसद घर्तीमगर प्रश्न गर्नुहुन्छ, “बजेट र योजना पार्न सत्ता पक्षका सांसद हुनुपर्ने तथा मन्त्री र कर्मचारीलाई ढोग्न जानुपर्ने अवस्थाबाट देश बन्छ ? अहिले पनि रोल्पालीका सपना र चाहना पूरा गर्ने खालका योजना किन परेका छैनन् ?” रोल्पालीका शिक्षा, कृष र पर्यटन आदिका सपना पूरा गर्दै उनीहरुका जनजीवनमा परिवर्तन गराउन सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…