•  ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन् । यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो । पुर्खाले सुरु गरेको परम्परा अहिले नियम बनेको छ । यो नियम भल्कोटवासीले कडाइका साथ पालना गर्छन् ।
        
        निसीखोला गाउँपालिका–६ भल्कोटका अधिकांश किसान पशुपालनमै छन् । उनीहरु हरेक वर्ष यसैगरी कहिले लेक त कहिले बेँसी गर्दै पशुचौपाया पाल्छन् । आज असोज ५ । उनीहरु लेकबाट बेँसी झर्ने दिन । त्यसैले बिहानैदेखि पशुचौपाया लिएर बेँसी झरिरहेका भल्कोटीहरुको लर्को लागेको छ । भर्कोबाङ चौर पशुचौपायाले भरिएको छ ।
        
        भर्कोबाङ मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा पर्छ । जहाँ समथर भूभागमा फैलिएको ठूलो मैदान छ । पशुचौपाया लिएर लेकबाट झरेका गोठाला बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइरहेका छन् । 
        
        हरेक वर्ष आजकै दिनलाई पर्वका रुपमा मान्ने भल्कोटवासीले लेकबाट पशुचौपाया झार्छन् । शुभ र अशुभ दिन हेर्दा आजको दिन अशुभ भएको भन्दै केही किसानले भने हिजोदेखि नै पशुचौपाया झार्न सुरु गरिसकेका थिए । 
        
        भर्कोबाङको पाटाहरुमा मकै, गहुँ, जौ का खेती हुन्छन् । केही खेतीयोग्य जमिन बाँझो भइसकेको छ भने केही जग्गामा मकै भित्र्याएर बाँकी रहेका डाँठ मात्रै बाँकी छन् । ती पाटाहरुमा लेकबाट झरेका सयौँको सङ्ख्यामा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन् । 
        
        आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ जम्मा हुन्छन् । अबका करिब २० दिन भर्कोबाङको चारैतिर काला, खैरा गाईगोरु, भेँडाबाख्राले भरिन्छन् । दर्जनौँ पशुचौपाय पाल्ने स्थानीयले गाउँमा घाँस पु¥याउन नसकेपछि लेकमा लैजाने गर्छन् । लेकमा बस्दा पशुचौपाया चराउनुका साथै उनीहरु चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्छन् । घ्यू उत्पादन र बिक्री पनि गर्छन् । 
        
        असारपछि बेँसीमा पशुचौपाया राख्न पनि पाइँदैन । यो स्थानीयले बनाएको वर्षांै पुरानो कानून हो । कानून उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन् । त्यसले गर्दा पनि सबैले परम्परादेखि नियमन पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्तीमगरको भनाइ छ । 
        
        त्रिचालिस वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेँसी कहिल्यै पनि नझरेको सुनाउनुभयो । आजभन्दा पछाडि असोजभित्रसम्म आउन पाइने भए पनि अछाडि आउन नपाइने नियम भएको उहाँले बताउनुभयो । केही गोठालाहरु निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेँसी झरिसक्ने घर्तीको भनाइ छ । 
        
        लेक जानेबेला त्यहाँ बसुन्जेललाई पुग्ने खर्च बोकेर जाने समयसमयमा गाउँ झर्ने र आवश्यक सामान लिएर फर्किने गरेको घर्ती बताउनुहुन्छ । उहाँले पटकपटक लेकबेँसी गर्न गाह्रो हुनेहुँदा चार÷पाँच महिनाका लागि पुग्ने खर्च एकैपटक बोकेर जाने गरेको बताउनुभयो ।
        
        “यो चलन हामीले बसालेको होइन, बाउबाजे र पुर्खाहरुले बसालेको हो, उहाँहरुले जे सिकाउनुभयो हामीहरुले त्यही गर्दै आएका छौँ, उहाँहरुले जे नीति कानून बनाउनुभयो हामीहरुले त्यही पालना गर्दै आएका छौँ, उहाँहरुले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरुलाई कानुन लाग्छ”, घर्तीमगरले भन्नुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…