•  ढोरपाटन (बागलुङ), १३ असोज : बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । 

        “अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन्”, ढोरपाटनकी ८३ वर्षीया मोतिकुमारी घर्तीले भन्नुभयो । उहाँले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गरेको बताउनुभयो । 

        उहाँले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खासै बुझ्दैनन् । यानिमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतिकुमारी गुनासो गर्नुभयो । रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यी गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अङ्ग्रेजी गीतले मौलिकतालाई हराई दिएको घर्तीको भनाइ थियो ।

        गीतसङ्गीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उहाँले बताउनुभयो । कुनै गीत चाडबाड विशेषतः र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत सङ्गीतको महत्व थाहा नभएको घर्तीको भनाइ थियो ।

        “हाम्रो पालामा अहिलेको जस्तो फोन थिएन, चिट्ठी लेख्ने प्रचलन पनि धेरै पछि आएको हो, परिवारका मान्छे र कोही आफन्त टाढा भए, प्रदेश गए भने नफर्किंदासम्म उसको हालखबर थाहा हुँदैनथ्यो, त्यति बेला मनको बह पोख्न गीत गाइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त छिनछिनमा फोन गर्छन्, भिडियो हेराहेर गर्छन्, विदेश छ कि सँगै छ थाहै हुँदैन, अहिलेका मान्छेलाई के थाहा त्यस बेलाका गीतको महत्व ?, उतिबेला हाम्रो सुख, दुःखको सारथी थियो गीत ।”

        युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको स्थानीय ७७ वर्षीय टीकाराम रोका मगरले बताउनुभयो । उहाँले अहिले पनि बूढापाकाले पुराना भाका गाउनका लागि लगाउने गरेको बताउनुभयो । उहाँका अनुसार अरूलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लगाएका हुन् । बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायका मानिसले गाउने उहाँको भनाइ थियो ।

        “हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको गीत/सङ्गीत अहिले लोप भए, धेरै वर्ष पुराना गीत अरू समुदायका मान्छेले गाउन जान्दैनन् । यी गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको हुन्छ, यी गीतहरुको लय पनि अरूभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो”, मगरले भन्नुभयो, “युवा पुस्ताले र्‍याप/झ्याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पीर लाग्छ, संस्कृति बचाउनका लागि राज्यले पनि भूमिका खेल्नुपर्छ, अहिले केटाकेटी जेन्मेको दुई/चार वर्षपछि विदेशी गीत सुन्ने गाउने गर्छन्, हाम्रा छोरा नातिले मैले गाएको रुचाउन्न् ।” गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो यानिमाया, सुनिमाया र ठाडी भाका गाउन कठिन मानिने उहाँको बुझाइ छ । 

        आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताले चासो नदिँदा मौलिकता बोकेका गीत हराउन थालेको ७४ वर्षीय तुलबहादुर पाइजा मगरले बताउनुभयो । उहाँका अनुसार मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्मपर्म लाग्दा, घाँसदाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम गीतसङ्गीत नै थियो । आफ्ना पालामा साथीभाइ भेट हुँदा यस्ता गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गरेको उहाँले स्मरण गर्नुभयो । 

सम्वन्धित समाचार

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…

आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२…

 काठमाडौँ, ८ माघ : नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक …