• गोदावरी (कैलाली), १२ मङ्सिर : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गर्नुभएको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।
        
        सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । 

        दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उहाँको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ ।

        दरबारभित्र सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिएको छ । राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।
        
    ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उहाँको भनाइ छ ।

    प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख आव २०७६÷७७ मा रु ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताउनुभयो । उहाँले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…