• गलेश्वर (म्याग्दी), १७ मङ्सिर : आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगविहीन बनेको हो । 

        यहाँ वर्र्षौंदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन् । 

        यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जङ्गली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो । 

        यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताउनुभयो । उहाँका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगङ्गा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन् ।

        हरियाली जङ्गल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ ।

        स्थानीयवासीसमेत रहनुभएका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन् । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…