•  गलेश्वर (म्याग्दी), २० पुस : म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

    पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलुखेतीतिर लागेका स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइरहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।

    उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकिर्षत भएका मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । आलु जति फलाए पनि बिक्रीका लागि चिन्ता नभएको उहाँले बताउनुभयो । आलु फलाएपछि  मौसमीभन्दा बेमौसमीमा यसको भाउ धेरै पाइने मालिका–२ रुमका किसान टेकबहादुर विकले बताउनुभयो ।

    म्याग्दीमा आलु मौसमको प्रतिकिलो रु ६० देखि ९० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु एक सयदेखि एक सय ४० सम्ममा बिक्री गर्न सकिने किसान बताउँछन् । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको यहाँका किसानको भनाइ रहेको छ ।

    आलुमा देखियो डडुवा रोग

    म्याग्दीमा आलु खेतीमा डडुवाको रोगको समस्या फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाइएको आलुमा डडुवाको समस्या देखिएको हो । डडुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कात्तिक महिनामा लगाइएको आलुमा पुस महिनामै डडुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

    व्यावसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् । अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । चिसो मौसम सुरुआत भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगङ्गा –६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि  डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनुभयो ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…