उर्लाबारी-३ स्थित मंगलबारेमा किराँत राई यायोख्खाको भोगाधिकार रहँदै आएको संरक्षित जग्गा एक व्यक्तिले रजाइँ गरेका छन्। ती व्यक्तिले यायोख्खाको पवित्र साकेला थान स्थलमै पक्की संरचना बनाएर मनमौजी तरिकाले निजी निवाससहित होटल तथा पसल सञ्चालन गर्दै आएका छन्।
स्रोतका अनुसार साकेला थान यतिबेला लागुऔषध दुर्व्यसनीहरुको अखाडाको रुपमा समेत परिचित छ। साकेला थानको संरक्षित स्थानलाई रेखदेख गर्ने बहानामा संस्थाकै पदाधिकारीमध्येका नारायण चाम्लिङले आफ्नो खेलोफड्को गर्ने आधार बनाएकाे आराेप लागेकाे छ।
चाम्लिङ किराया उर्लाबारीका उपाध्यक्षसमेत हुन्। संस्थाले चर्चेको जग्गा व्यक्तिको कब्जामा रहनु गलत भएको किराँत समुदायभित्रैबाट टिकाटिप्पणी सुरु भएपछि नारायण चाम्लिङको बचाउमा यायोक्खाले विज्ञप्ति नै जारी गरेको छ।
नारायणलाई संस्थाप्रति इमान्दार, कर्तव्यनिष्ठ र वफादार रहेको भन्दै यायोक्खाले माघ १४ गते एक विज्ञप्ति जारी गरी उनीप्रति लागेको आरोपहरु पूर्णरुपमा झुटो भएको उल्लेख गरेको छ।
यद्यपि उनलाई जग्गा किन र के-कति प्रयोजनका लागि सुम्पिएको भन्नेमा यायोक्खाले कुनै धारणा व्यक्त गरेको छैन। टेलिफोन सम्पर्कमा भने यायोक्खा उर्लाबारीका अध्यक्ष भीमबहादुर राईले संस्थागत निर्णय गरेरै १० वर्षका लागि नारायण चाम्लिङलाई जग्गा लिजमा दिएको बताएका छन्।
‘वनको जग्गा संरक्षित गर्ने नाममा यायोख्खाले भोगाधिकर लिने, फेरि तेस्रो व्यक्तिलाई सुम्पिन मिल्छ?’ भन्ने प्रश्नमा अध्यक्ष राईले स्पष्ट कुनै प्रतिक्रिया जनाएनन्। उनले यति मात्रै भने, ‘रेखदेख गर्नेले जीविका चलाउन यसो तलमाथि त गर्छ नै!’
किरात राई यायोख्खाकै एकजना सदस्यले भने, ‘सबैभन्दा ठूलो समस्या भनेको तेस्रो पक्ष खडा भएको छ। उनलाई के आधारले जग्गा उपलब्ध गराइयो? यायोख्खासँग कुनै सम्झौता गरेको छैन तर जग्गा उसैले कब्जा गरेर बसेको छ।’
आर्थिक उपार्जनका लागि चाम्लिङलाई संस्थाको जग्गा कसरी र कुन तरिकाले प्रदान गरियो भन्दै उनले संस्थागत रुपमा चित्तबुझ्दो जवाफ नआउँदा आर्थिक चलखेलको आशंका पैदा भएको जनाए। साकेला थान एक हेक्टर क्षेत्रफलमा रहेको छ।
प्राप्त जानकारीअनुसार यायोक्खाले साकेला थानको रेखदेखका लागि चाम्लिङलाई जिम्मा दिएको थियो। उनलाई त्यहाँ अस्थायी टहरो बनाएर बस्ने र दैनिक आइपर्ने सुरक्षासम्बन्धी काम गर्नेगरी जिम्मेवारी दिइएको थियो।
चाम्लिङले संस्थाको कार्यादेशविपरित आफ्नै पाखोबारी जस्तैगरी सागसब्जी लगाउने, घर बनाउने, कुखुरा, सुँगुर रागा र भैंसी पाल्ने जस्ता काम गर्दै आएको पाइन्छ। यस्तै, संरक्षित वन क्षेत्रका रुख र बल्ला–बल्ली काट्ने, फाड्ने र तिनै दाउराले बर्सौँदेखि रक्सी पार्ने र बिक्री गर्ने गरेको समेत खुल्न आएको छ।
संस्थामा एक पैसा आम्दानी नबाँधेका चाम्लिङ नै स्वयं यायोक्खाको नगर उपाध्यक्ष हुनु दु:खद भएको ती सदस्य बताउँछन्। ‘साकेला थानको जग्गा सुरक्षाका लागि राखेको पदाधिकारी ले नै संस्थाभित्रका बोटबिरुवा काट्ने, गाजाँ बेच्ने, रक्सी पारेर बिक्री गर्ने, गोठ बनाउने गरेपछि गुनासो कसलाई गर्ने?’ भन्दै उनले दुखेसो पोखे।
स्रोतको दोहन गर्ने, उपयोग गर्ने तर, आम्दानी नबाँध्ने गरेपछि यतिबेला चाम्लिङलाई हटाएर नयाँ व्यक्तिलाई राख्नुपर्ने कुरा यायोख्खाभित्रै जोडतोडले उठेको छ।