•  ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ ।नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

    झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।

    आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।

    खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।

    खेलको ६५ औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । खेलको ४३ औँ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राइलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो । सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए ।

    ६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । विकास विकको पावरफुल प्रहार पोस्टमा लागेर रिबाउन्स भएको थियो । रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।

    खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए । उनले लिग विजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्वीकारेका छन् ।

    पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताएका छन् । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

    सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …