२०७४ फागुन २७ आइतवार
सियाटल; अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ‘प्रत्येक १० घन्टामा एक जहाज उत्पादन गर्ने’ घोषणा गरेको छ ।
दुई वर्षपछि सन् २०२० बाट यो घोषणा कार्यान्वयनमा ल्याइने बोइङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेन्निस मुइलेनबर्गले बताएका छन्।
‘यो दशकको अन्त्यपछि हामी प्रत्येक वर्ष ९ सय थानभन्दा बढी संख्यामा जहाज उत्पादन गर्ने छौं,’ सिइओ मुइलेनबर्गले अमेरिकी टेलिभिजन सिएनबिसीसँगको अन्तर्वार्तामा भने, ‘यो भनेको प्रति १० घन्टामा एक जहाज उत्पादन गर्ने लक्ष्य हो ।’
उनका अनुसार बोइङले गत वर्ष व्यापारिक उडान गर्ने ७ सय ६३ थान जहाज विभिन्न ग्राहकलाई आपूर्ति गरेर नयाँ रेकर्ड कायम गरेको थियो । यो भनेको प्रत्येक साढे ११ घन्टामा एक जहाज उत्पादन भएको रेकर्ड हो ।